काठमाडौँ : फोटोग्राफर विवेक कुँवरले खिचेको तस्बिरले ‘सोनी वर्ल्ड फोटोग्राफी अवार्ड–२०२४’ जितेको छ । कपनस्थित फेल्ट बलको बिचमा सुतेर मुस्कुराइ रहेकी एक बालिकाको तस्बिर विजेता बनेको हो ।
फेल्ट बल उत्पादन गर्ने कम्पनीको डकुमेन्ट्री बनाउने क्रममा खिँचेको तस्बिर राम्रो लागेर कुँवरले सोनी वर्ल्ड फोटोग्राफी अवार्डका लागि दिएका थिए । फोटोले अवार्ड जितेपछि फोटोग्राफीप्रति थप प्रेरणा र ऊर्जा मिलेको उनको भनाइ छ ।
विगत ११ वर्षदेखि विश्वभरका युवा, विद्यार्थी, फोटो पत्रकार तथा फोटोग्राफरका लागि सोनी वर्ल्ड फोटोग्राफी अवार्ड आयोजना हुँदै आएको छ । विजेतालाई पाँच हजार डलर पुरस्कारसहित सोनीका उत्पादन प्रदान गरिँदै आएको छ ।
सो अवार्डका लागि ५४ देशका विजेता फोटोको घोषणा गरिएको बिबिसीले जनाएको छ । उक्त तस्बिर २०२४ को अप्रिल र मे महिनामा लण्डनको समरसेट हाउसमा प्रदर्शनी गरिने जनाइएको छ । एक विदेशी फोटोग्राफरले नेपालमा घुम्न आउँदा खिचेको हात्तीले बालुवा खेलाएको तस्बिर पनि पुरस्कृत भएको छ ।