काठमाडौंः डडेल्धुराको अमरगढी नगरपालिका–२ की १८ वर्षीया भुवनेश्वरी ऐर अमरगढी नगरपालिका–१ का एक किशोरको मायाजालमा परिन्। र, उनी ती किशोरसँग गत बैशाखमा भागेर गइन्।
गाउँ नजिकै बस्ने किशोर उनीभन्दा ३ वर्ष कान्छा थिए। मायामा चुर्लुम्म डुबेकी उनी १८ वर्षकी थिइन् भने ती किशोरको उमेर १५ वर्ष मात्रै छ। बिहे गर्दा किशोर कक्षा ८ मा पढ्थे भने किशोरी कक्षा १२ मा। दुवै जनाको उमेर विवाह गर्न योग्य नभएपछि किशोरी पक्षले छोरी फिर्ता ल्याउने कुरा गरे। तर, ती किशोरले भुवनेश्वरीलाई ‘फिर्ता लगे मर्दिन्छु’ भन्ने धम्की दिएपछि किशोरी पक्षले छोडिदिए।
भुवनेश्वरीकी बहिनी सावित्री ऐरका अनुसार, ती किशोरले राम्रोसँग पाल्ने आश्वासन समेत दिएका थिए। सुरुमा उनीहरुको वैवाहिक जीवन राम्रैसँग चलेको थियो। तर, बिस्तारै उनीहरुको सम्बन्ध चिँसिदै गयो। त्यसपछि भुवनेश्वरी साउनमा पहिलोपटक माइत आएकी थिइन्। त्यो समयसम्म उनी घर परिवारबाट पीडित बनिसकेकी थिइन्।
श्रीमान् र सासुबाट पीडित बनेको कुरा उनले सावित्रीलाई सुनाएकी थिइन्। तर, बिरामी आमालाई बहिनीले भनिदिने र आमालाई झन् समस्या हुनेभएपछि उनले आफ्नो कुरा बहिनीलाई समेत भन्न छोडिसकेकी थिइन्। भदौंमा बागबजारमा भेट्दासमेत दिदी (भुवनेश्वरी)को आँखामा श्रीमान्को कुटाइबाट चोट लागेको र आँखा सुन्निएको देखेको उनी बताउँछिन्। दिदीले बताएअनुसार, ती किशोरको अन्तै चक्कर चलेको सावित्री बताउँछिन्।
उनले आफ्नी प्रेमीकालाई अमरगढी पार्क घुमाएको समेत भुवनेश्वरीले देखेकी थिइन्। ती किशोर घरमा गएको समयमा उनले सोधेकी थिइन्, ‘मभन्दा राम्री छ नि त्यो केटी ?’ त्यसपछि ती किशोरले ‘लुकेर हेरेको’ भन्दै उनलाई थप यातना दिन थाले। कहिलेकाँही त ती किशोरले घर आउन समेत छोडेर प्रेमीकासँग बस्न थालेका थिए।
किशोरसहित उनका परिवारले किशोरीलाई हेप्न थाले। विभिन्न यातना तथा रुखो व्यवहारका कारण भुवनेश्वरी अमरगढी–१ घर भएका पतीको घर छाडेर यही फागुन ७ गते माइत फर्केकी थिइन्। फर्कनुभन्दा पनि किशोरका परिवारले उनलाई घरनिकाला गरेको भुवनेश्वरीका हजुरबुवा दिलबहादुर ऐरले बताए। उनका अनुसार, पतीले घरबाट लखेट्दै उनको लुगा चालिसे बजारमा फालेका थिए।
ती किशोरीले माइत आएको रात बहिनी सावित्रीसँग सुतेकी थिइन्। सावित्रीका अनुसार, माइत आएपछि पनि उनलाई घरबाट फोन गरेर यातना दिइएको थियो। ‘रातभर फोन गरेर ती किशोर र उनकी आमाले यातना दिए। दिदीका शरिरभरी निलडाम नै निलडाम थिए। उल्टै मलाई पनि ज्यान मार्ने धम्की आयो,’ उनले भनिन्।
त्यसको भोलिपल्टै उनले आत्महत्याको बाटो रोजिन्। मर्नुभन्दा पहिले उनले ‘अर्को जुनीमा भेटौंला’ भनेर फेसबुकमा स्टोरी हालेकी थिइन्। उनको शव घर नजिकैको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो।
पीडक पक्षको जाहेरी दर्ता, पीडितको भएन
भुवनेश्वरीको आत्महत्यापछि पीडित पक्षले पीडक पक्षलाई खबर गरेको थियो। तर, खबर गरेको दुई घण्टापछि मात्रै पीडक पक्ष घटनास्थलमा पुगेको पीडित पक्षको आरोप छ। दिदीलाई आत्महत्या गर्न बाध्य बनाएको भनेर प्रहरीमा उजुरी दिन जाँदा उल्टै आफूमाथि हातपात भएको सावित्रीको आरोप छ।
‘पीडक पक्षबाट प्रहरीले घुस खाएको छ, नत्र हामीले दिएको उजुरी किन दर्ता भएन ? मेरो दिदीलाई न्याय चाहियो,’ उनले भनिन्। उनका अनुसार, त्यसपछि पीडित परिवार उजुरी दिन सरकारी वकिल कार्यालय पुगेको थियो। सरकारी वकिल कार्यालयमा जाहेरी पनि उल्टो लेखेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘प्रहरीले उल्टै सरकारी वकिललाई कुरा लगायो। उनी माइतमा आएर मरेको र माइती पक्षले कुटपिट गरेको भनेर उजुरी नै दर्ता भएन।’
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपककुमार कार्कीले किशोरीका ससुराले आत्महत्या गरेको भनेर उजुरी दिएको बताए। डीएसपी कार्कीले पीडित पक्षले भने उजुरी नै नदिएको जिकिर गरे।
‘जाहेरी नलिएको कुरा गलत हो। हामीले हिजो साँझसम्म जाहेरी आउँछ कि भनेर कुरेका थियौं। तर, कोही पनि आउनु भएन,’ उनले भने।