धनगढी: खेलकुद परिषद्, सुदूरपश्चिमका सदस्य सचिव दिपक सिंहले परिषद्सँग बजेट न्यून रहेको बताएका छन्। हिजो (बिहीबार) धनगढीस्थित रंगशालामा आयोजित श्री कलेज अफ म्यानेजमेन्ट धनगढी कप फुटबल प्रतियोगिताको समापन समारोहमा उनले यस्तो बताएका हुन्।
सिंहले परिषद्सँग डेढ करोड पनि बजेट नभएको अवस्थामा जेनतेन प्रतियोगिताहरुदेखि अन्य कार्यक्रम गरिरहेको बताए। यस्तै उनले सुदूरपश्चिममा बजेटका लागि चाकडी गर्नपर्ने अवस्था आएको भएपनी आफूले कसैको चाकडी नगर्ने स्पष्ट पारे।
उनले आफूले माग गरेका धेरै कुरा प्राप्त गर्न नसकेको भन्दै अहिले पनि खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएको दाबी गरे। यस्तै पछिल्लो राम्रो काम गरेर होइन, चाकडी गरेर बजेट पाउने अवस्था आएको पनि बताए। उनले भने, ‘यहाँ केही हुनेवाला छैन, यहाँ चाकरीबाजको हुने अवस्था छ। तर, हाम्रो यो पद रहोस् या नरहोस् हामी चाकरी गर्नेवाला छैनौं त्यो हाम्रो नियत पनि छैन।’
त्यस्तै सिंहले अहिले परिषद्ले करोडौं उडायो भनेर नकारात्मक प्रचार भैरहेको भएपनि त्यस्तो नरहेको र आवश्यकता अनुसार बजेट नै नपाइरहेको दुखेसो पोखे। तर उनले कसको चाकडी गर्नुपर्ने हो भन्ने विषयमा केही खुलाएका छैन। उनको उक्त टीप्प्णी मन्त्री र मुख्यमन्त्री लक्षित मानिएको छ।
परिषद् सामाजिक विकास मन्त्रालय मातहत छ।