कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले नक्कली कागजात बनाएर बैंकबाट ऋण लिएको आरोप लागेको छ। घर नै नभएको ठाउँमा घर देखाएर उनले तत्कालीन लक्ष्मी बैंकबाट ऋण लिएको आरोप लागेको हो।
उपाध्यक्ष नाथले सेती इन्जिनियरिङ्ग कन्सल्टेन्सीको सहायतामा बेलडाँडी गाउँपालिकाबाट घर नक्सा प्रमाणीत कागजात बनाएकी हुन्। उक्त कन्सल्टेन्सीले विना आधारको ऐलानी जमिनमा घर बनेको नक्सा बनाएको थियो। उक्त घर नक्सा पास गर्न कन्सल्टेन्सीले प्रमाणीत गरेको फर्जी कागजात उनले २०७७ माघ २३ गते पालिकामा पेश गरेकी थिइन्। त्यसकै आधारमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले घर नक्सा प्रमाणित गरेका थिए।
उपाध्यक्ष नाथले बेलडाँडी गाउँपालिका वडा नम्बर २ भित्रको नक्सा सिट नं. ०२६ ०५०४ अन्तरगत कित्ता नं. ३५७ मा क्षेत्रफल ०,४०० ब.मी.जग्गामा पक्की भवन ग्राउण्ड फलोरको क्षे.फ. ६९१.१३ र पहिलो तला ६९१.१३ वर्ग फिट भवनको ६ वेडरुम, २ सिडी, २ गेलरी, १ सटर पक्की घर बनेको भन्ने फर्जी कागज बनाएकी थिइन्। नाथले फर्जी कागजातमा उल्लेख कित्तामा कुनै घर छैन। उनले फर्जी कागजमा उल्लेख गरे अनुसारको घर बेलडाँडी गाउँपालिकादेखि बेलडाँडी बजार जाने साविक बाटोमा रहेको छ। साविक बाटोमा घर निर्माण गर्नु गैरकानूनी मानिन्छ।
कागजमा नाथले सो कित्ता नम्बर भएको जमिनमा तीन तले घर देखाएकी छन्। जबकी ३५७ कित्ता नम्बरकोे जमिनमा त्यस्तो कुनै संरचना नै नरहेको पाइएको छ। अर्कै ठाउँमा रहेको तीन तले घरलाई उपाध्यक्ष नाथले कागजी रुपमा ३५७ कित्ता नम्बरमा देखाएकी हुन्।
तर त्यसलाई बेलडाँडी गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी र सब इन्जनियर जय कुँवरले प्रमाणित गरे। नापी कार्यालय बेलौरी कञ्चनपुरको नक्सा अनुसार उपाध्यक्ष नाथले बनाएको घर साविक सडकमा रहेको देखिन्छ। साविक सडकमा रहेको घर र कित्ता नंं ३५७ को जग्गा झण्डै आधा किलोमिटर भन्दा बढीको दुरीमा रहेको छ। दुई वर्षअघि बनाइएका ती नक्कली कागजपत्र धितो राखेर नाथले बैंकबाट मोटो रकम ऋण लिएकी छन्।
कुनै पनि जग्गामा संरचना देखाउँदा पालिकाको इन्जिनियरले स्थलगत अनुुगमन गरेर सो प्रक्रिया अगाडि बढाउनु पर्ने हो। तर, कुनै संरचना नै नरहेको जमिनमा तीन तले घर देखाउने कागजमा गाउँपालिकाका सवइन्जिनियर जय कुुँवरले हस्ताक्षर गरेका छन्।
घरै नभएको कित्तामा घर देखाएर ऋण दिने तत्कालीन लक्ष्मी बैंकका कर्मचारीको भूमिका पनि शंकाको घेरामा छ। यसरी कन्सल्टेन्सी, पालिकाकाका सवइन्जिनियर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र बैंकका कर्मचारीले घर नै नभएको कित्तामा तीन तले संरचना देखाएपछि उनीहरुमाथि शंकासँगै मिलेमतोको गम्भीर प्रश्न उठेको छ।
बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथ यस विषयमा प्रतिक्रिया लिन खोज्दा आफू व्यस्त रहेको भन्दै पन्छिइन्। सोही विषयमा आवश्यक अनुसन्धान गर्न क्रान्तिकारी युवा संगठनले अख्तियार दुरुपयोग आयोग कञ्चनपुरमा निवेदन दिएको छ। भने, लक्ष्मी सनराइज बैंकसँग उपाध्यक्ष नाथले ऋण माग्दा बुझाएका कागजात मागिएको छ।