धनगढी : धनगढीमा हिजो बिहानै एउटा खबर भाइरल बन्यो। खबर थियो, धनगढीको नयाराम होटलका म्यानेजरसमेत रहेका भाष्कर भट्टले आफ्नी आमालाई फोन गरेर आफूलाई आक्रमण भएपछि लापता भएको।
यो खबरपछि जिल्ला प्रहरी कार्यालय कैलालीसहित मातहतको प्रहरी अलर्ट भयो। भट्टको खोजी व्यापक पारियो। उनको मोबाइल लोकेसन ट्रेस गर्नेदेखि विभिन्न कोणबाट खोजी थालियो।
प्रहरीलाई १९ वर्षीय भट्टकी आमाले आफूलाई छोराले कञ्चनपुरको डोकेबजारबाट अन्तिमपटक फोन गरेर अब आउँदिन्, मेरो हातखुट्टा काटिएको छ भनेर भनेको भन्ने जानकारी दिएपछि खोजी सुरु गरिएको थियो।
त्यसक्रममा उनीबारे थुप्रै असलियत सतहमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, एसपी पदमबहादुर बिष्टले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार आफू बेपत्ता भएको नाटक गर्ने ती भट्टको लोकेसन खोजीका क्रममा धनगढीको एलएनचोक, क्याम्पस रोड र डोकेबजार लगायतका क्षेत्रमा ट्रेस भएको थियो।
रोचक कुरा त के छ भने उनै भट्टले बेपत्ता भएको नाटक गरेका कारण उनको कर्तुत प्रहरीले थाहा पाएको थियो। खोजी गर्दैगर्दा उनी ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी भएको खुल्यो।
त्यसपछि खोजी थप तीब्र पारेपछि उनी समातिएका थिए। उनी डोकेबजारबाट समातिएकोमा धनगढी बिशालनगर बस्ने उनका एकजना साथी सन्दीप धामी पनि सोही पुरानो मुद्दामा समातिएका थिए। भट्ट ब्लेडले आफ्नै हात काटेको अवस्थामा समातिएका थिए भने उनका साथी २० वर्षीय धामी घरबाटै समातिएका हुन्।
उनीहरूले केही महिना अगाडि धनगढीमा ड्युटीमा रहेका प्रहरीमाथि सांघातिक हमला गरेकोमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको सजाय सुनाइएको थियो।
सो सजाय भोग्न छोडेर भागेका उनीहरु दुबैजनालाई हिजो समातेर कस्टडीमा राखिएको र पछि अदालतले तोकेको धरौटी (जरिवाना) २५/२५ हजार तिरेर छुटेको प्रहरीले जनाएको छ।