धनगढी : बझाङको बित्थडचिर गाउँपालिका ९ मा रहेको सुनकुडा माध्यामिक विद्यालयमा विव्यस अध्यक्षका लागि ६१ जनाको उम्मेदवारी परेको छ । कुनै समय जिल्लाको नमुना विद्यालय अहिले
चरम अस्थिरता विवाद र द्वन्द्वमा फसेको छ ।
फागुन ७ गते अभिभावक भेलाले फागुन १२ गतेभित्र विव्यस गठन गरिसक्ने निर्णय गरेको थियो । जस अनुसार फागुन १२ गते अभिभावक भेला बोलाइयो । तर, स्वार्थ समूहका आ आफ्नै अडान कायम रहे । सहमतिमा विव्यस गठन हुने कुरै भएन । फलस्वरुप ९ सदस्यीय विव्यस गठन गर्नका लागि ६१ जना अभिभावकले नामावली दर्ता गराएका छन् । जसमध्ये अधिकांशको दाबी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नको लागि रहेको छ ।
तत्कालीन विव्यसको कार्यकाल गत वर्षको फागुन २१ मा समापन भएको थियो । तत्पश्चात् हालसम्म पनि विद्यालयमा विव्यस गठन हुन सकेको छैन ।
विव्यस सदस्य बन्नका लागि भएको यो भन्दा लज्जास्पद खेल के हुन सक्छ ? विद्यालयले प्रकाशित गरेको नामावलीमा एउटै घरका श्रीमान् श्रीमतीले पनि अध्यक्षको दाबी गरेर उम्मेदवारी दर्ता गराएका छन् । प्रकाशित सूचना अनुसार नरबहादुर ढाँट र पिर्मा देवी ढाँट श्रीमान्/श्रीमती हुन् । उनीहरू दुवै जनाले विव्यस सदस्यका लागि नाम दर्ता गराएका छन् । विव्यस सदस्यहरूबाट अध्यक्ष छनोट गरिने भएको हुनाले दुवै जनाको दाबी विव्यस अध्यक्ष बन्ने रहेको जानकारहरू बताउँछन् ।
कहिले तालाबन्दी, कहिले तलब रोक्का, कहिले एउटै विद्यालयमा दुई प्रअ, कहिले अदालतमा उजुरी जस्ता घटनाबीच विद्यालय गुज्रिरहेको छ ।