धनगढी : आइतबार दार्चुलाकी २० वर्षीया प्रमिला धामी मृत फेला परिन्।
उनी महेन्द्रनगरको कटानस्थित भीमदत्त नगरपालिका–१८ को सभाहलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
आइतबार सभाहलमा बिहानै योग-ध्यान गर्नेहरूले सभाहलको ढोका खोलेर भित्र बस्दा उनीहरूले महिला झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
उनी भीमदत्त नगरपालिकाका नगर प्रहरी हरिश महराकी पत्नी हुन्। प्रेम सम्बन्धपछि ५/६ महिनाअघि मात्र उनीहरूले बिहे गरेका थिए।
प्रमिला वडा कार्यालयमा ओजीटीमा रहेका बेला नगर प्रहरी महरासँग प्रेममा परेकी थिइन्। यसपछि बिहे गरेको केही महिनामै प्रमिलाले प्राण त्यागेकी हुन्।
नगर प्रहरीलाई वडा कार्यालयमा बसोबासका लागि ‘क्वाटर’ दिइएको छ। नगर प्रहरी महरा श्रीमतीसहित वडा कार्यालयको क्वाटरमा बस्ने गरेका थिए। वडा कार्यालयको रेखदेखको जिम्मेवारी पनि उनकै हो।
वडा कार्यालयको सीसीटीभी फुटेजमा महराकी पत्नी प्रमिला ‘चुन्नी’ र आफ्नो मोबाइल लिएर शनिबार दिउँसो सभाहलतर्फ गएको देखिन्छ।
‘शनिबार दिउँसो ३ः३९ तिर उनका भाइ कोठाबाट निस्किएका छन्। त्यसको २/३ मिनेटपछि प्रमिला चुन्नी र मोबाइल लिएर सभाहलतर्फ निस्किन्छन्,’ सीसीटीभी फुटेज हेरेका एक जना भन्छन्, ‘सभाहलको मुख्य ढोका बाहिरबाट बन्द गरेको फुटेजमा छ। त्यसपछि अर्को ढोकाबाट उनी सभाहलभित्र पसेकी छन्।’
वडा कार्यालयको सभाहलभित्र राखिएको कुर्सीमा चढेर ती युवती झुण्डिएकी छन्। मोबाइल र चप्पल छेउमै राखेकी छन्। सभाहलभित्र पस्ने अर्को ढोकाभित्रबाट बन्द गरिएको छ।
मृतक युवतीका श्रीमान् भने त्यस बेला कोठामा थिएनन्। केही समयपछि ‘क्वाटर’मा आएको देखिएकी उनी घरधन्दाको काममा लागेको फुटेजमा छ।
‘क्वाटर’बाहेक प्रमिलाको बाहिर पनि कोठा थियो। शनिबार राति साथीसँगै क्वाटरमा बसेका नगर प्रहरी महराले आइतबार बिहान मात्रै घटना थाहा पाए।
माइती पक्ष आएपछि आइतबार दिउँसो युवतीको शव पोस्टमार्टमका लागि घटनास्थलबाट उठाइएको थियो।
पोस्टमार्टमपछि परिवारले शवको दाहसंस्कार समेत गरिसकेको छ। युवतीले आत्महत्या गरेको पुष्टि भएकोे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए।
युवतीका श्रीमान्सँग सोधपुछ गर्दा कुनै घरायसी विवाद पनि नदेखिएको उनको भनाइ छ।
‘सभाहल बाहिरबाट बन्द देखिएपछि केही डाउट थियो। सभाहल प्रवेश गर्ने अर्को ढोका पनि रहेछ। अनुसन्धानका क्रममा सीसीटीभी हेर्दा अर्को ढोकाबाट सभाहलमा गएर घटना भएको देखियो’, उनले भने, ‘त्यस्तो घरयासी विवाद पनि केही देखिन्न।’