धनगढी : कञ्चनपुरमा स्थानीयको लाखौँ रकम ठगेर एक महिला फरार भएकी छन्।
फरार हुनेमा जिल्लाको बेलौरी नगरपालिका-१० घर भएकी लक्ष्मी जोशी रहेकी छन्।
उनी बेलौरीका स्थानीयबाट पैसा ठगेर फरार भएकी हुन्।
उनले बेलौरी-८ का महेशसिंह विष्टबाट १८ लाख ५३ हजार, बेलौरी-१० शिवनगरकी शान्ति थापाको एक लाख ५० हजार, बेलौरी-१० शिवनगरकै हिमानी खड्काको ३ लाख २० हजार र शिवनगरकै सुनिता जोशीको परिवारबाट ८ लाख रुपैयाँ लगेकी छन्।
उनले प्राय सबैसँग घरायसी खर्च भनेर मागेको बुझिएको छ। उनले कलकत्तामा कस्मेटिक पसल पनि सञ्चालन गरेकि थिइन्।
पीडित महेशका अनुसार सुरुमा लक्ष्मीका बुढाले सो रकमको तमसुक बनाएर ६ महिनाको भाका दिएका थिए। भाका सकिएपछि विभिन्न बहाना बनाउँदै उनीहरुले पैसा फिर्ता गरेनन्।
दुई वर्ष अगाडि पैसा लगेकी लक्ष्मीले एक वर्ष अगाडि १८ लाख ५३ हजार रुपैयाँको चेक दिएकी तर सो खातामा पैसा नभएपछि विष्टले प्रहरीमा निवेदन दिई पक्राउ गर्न लगाए।
उनले बैङ्किङ कसुरमा लक्ष्मीका नाममा जिल्ला अदालत कञ्चनपुरमा मुद्दा हालेका थिए। मुद्दा हालिसकेपछि धनगढीबाट प्रहरीले उनलाई बल्लतल्ल पक्राउ गरेको थियो।
इप्रका बेलौरी ल्याएर उनलाई जिप्रका कञ्चनपुरमा २५ दिन राखिएको थियो। उनी पछि एक लाख रुपैयाँ धरौटीमा छुटेको महेश बताउँछन्।
बाहिर आइसकेपछि उनले आफूसँग मुद्दा लडेको उनी बताउँछन्। मुद्दामा गत पुस ९ गते आफ्नो पक्षमा फैसला भएको तर उनी भने फरार रहेकी विष्ट बताउँछन्। आफ्नो एक वर्ष समय मुद्दामै बितेको उनले बताए।
अधिकांश मान्छेको पैसा खाएर गायब रहेका लक्ष्मीका दम्पतीले दुई छोराछोरी पनि कहाँ राखे भन्ने पत्तो छैन्।
पीडित हिमानीका अनुसार, काम चलाउनका लागि भनेर उनले पैसा मागेकी थिइन्। ‘पछि सम्पर्कविहीन भइन्, बिचमा अझ सम्पर्कमा आएकी हुन्, खाने हैन, दिन्छुँ भन्ने कुरा गर्ने, हाम्लाई खालि अल्झाई राख्ने, अहिले त फोनै लाग्दैन’, उनले भनिन्।
महेशले लक्ष्मीलाई कसैले फेला पारे एक लाख रुपैयाँ पुरस्कार पनि दिने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक लाख रुपैयाँ पुरस्कार पनि दिने भन्दै लक्ष्मीको फोटोसहित राखेका छन्।