धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ‘स्ट्रिप रोपलाइट’ जडान गरिएको छ।
जडित ‘स्ट्रिप रोपलाइट’को हिजो (आइतबार) साँझ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरे।
रात्रीकालीन सौन्दर्यकरणका लागि धनगढी उपमहानगरपालिकाले ‘स्ट्रिप रोपलाइट’ जडान गरेको हो।
पहिलोचरणमा ६ लेन सडकअन्तरगत पर्ने भारतको नाका जोड्ने त्रिनगर भन्सारदेखि मोहनपुरसम्म ‘स्ट्रिप रोपलाइट’ जडान गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ।
‘स्ट्रिप रोपलाइट’ को उद्घाटन गर्दै भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले धनगढीलाई नमुना सुन्दर शहर बनाउन तीनै तहको सरकारको सहकार्यमा विकास निर्माणका काम भइरहेको बताए।
उनले ६ लेन सडकमा जडान गरिएको ‘स्ट्रिप रोपलाइट’ले धनगढीको रात्रीकालीन सौन्दर्यलाई बढाउने बताए।
उपमहानगरले ३१ लाखको लागतमा ६ लेन सडकका २६५ पोल र १४० वटा ट्रीगार्डमा ‘स्ट्रिप रोपलाइट’ र करिब ३ लाख लागतमा नेपाल–भारत सीमा नाकानजिक रहेको नेपालतर्फको भन्सार गेटमा ‘फ्लोड लाइट’ जडान गरेको धनगढीका नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन्।
‘स्ट्रिप रोपलाइट’ र ‘फ्लोड लाइट’ जडानपश्चात् ६ लेन सडकमा रात्रीकालीन सौदन्र्य बढेको भन्दै नगरवासी खुसी भएका छन्।
उपमहानगरद्वारा जडित ‘स्ट्रिप रोपलाइट’ र ‘फ्लोड लाइट’मा नेपालको राष्ट्रिय झण्डामा अंकित रंग रहेको छ।
यसैगरी, उपमहानगरपालिकाले धनगढी विमानस्थल क्षेत्र सडकमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ।
एयरपोर्ट गेटदेखि धनगढी विमानस्थलसम्म करिब १० लाखको लागतमा ५६ वटा स्मार्ट स्ट्रिट लाइट जडान जडान गरेको धनगढी नगर प्रमुख गोपाल हमालले बताए।