महेन्द्रनगर : कञ्चनपुरस्थित महाकाली नदीको रोयल्टीको ठेक्कामा अख्तियार पसेको छ। माफियाको कब्जामा परेको महाकालीको ठेक्काबारे महेन्द्रनगरपोष्टले निरन्तर समाचार प्रकाशन गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरले छानबिन गर्ने भएको हो। अख्तियार स्रोतले छानबिन थालिएको र रोयल्टीको ठेक्का प्रक्रिया, मापदण्ड र राजस्व छली सबै कोणलाई अनुसन्धान गरिरहेको जनाएको छ।
विगतका आर्थिक वर्षमा रोयल्टीको ठेक्का हत्याउने र ठेक्कामा भ्रष्टाचारी ठहरिएकाहरुसहितकै समूहले अहिले पनि ठेक्का हत्याएको थियो। झण्डै ३ महिना ढिलोगरी खुलेको महाकाली नदीको रोयल्टी संकलनको ठेक्का काठमाडौंको टाइगर सगरमाथा जेभीले हात पारेको थियो।
निकटस्थ स्रोतका अनुसार नारद पाण्डे, पदम बोहरा, दिवाकर भट्ट र तेजबहादुर चन्दसमेत साझेदार रहेको सो कम्पनीले भ्याटसहित ७ करोड ७७ लाखमा रोयल्टी ठेक्का पाएको हो। सो कम्पनीका तर्फबाट ठेकाको सम्झौताको अख्तियारी भने रमेश बोहराले लिएको बताइन्छ।
सुरुदेखि नै यो कम्पनीले सेटिङमा ठेक्का हात पारेको आरोप लाग्दै आएको छ। किनकी यस कम्पनीका हर्ताकर्ता रहेका तेजबहादुर उनै मान्छे हुन्, जसको विगतका वर्षमा महाकालीको रोयल्टीको ठेक्कामा भएको भ्रष्टाचारमा सहभागिता थियो। तर, उनी पावरको आडमा अख्तियारको फन्दामा पर्नबाट जोगिएका थिए। उनी आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दका ‘खास’ मान्छे दाबी गर्दछन्।
पहिलेका २ आर्थिक वर्षमा पनि महाकालीको रोयल्टीमा भ्रष्टाचार भएको थियो। अहिले पनि ठेक्कामा व्यापक गडबड रहेको पाइएको छ।दोधारा चादनी नगरपालिकाका मेयर किशोर लिम्बू र भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीसँग सेटिङ गरेर ठेकेदार र कम्पनीले अन्धाधुन्ध स्काभेटर नै लगाएर उत्खनन गरिरहेका छन्। जहाँ सम्झौताको परिमाण भन्दा १० गुणा बढी उत्खनन भैरहेको बताइएको छ। तर नियामक र अनुगमन गर्ने निकाय भने यस विषयमा बेखबर देखिन्छ। उक्त महाकालीको अन्धाधुन्ध उत्खननले सो क्षेत्रमा रहेको राष्ट्रिय गौरवको चारलेन पुल, एसियाकै सबैभन्दा लामो पुल र सडकसमेत जोखिममा पर्ने स्थानीयहरुको भनाई छ।
उसो त यो ठेक्कामा तत्कालीन कञ्चनपुरला एसपी कमल थापाले पनि पैसा लिएर सेटिङ मिलाएको आरोप लागेको थियो। तत्कालीन समयमा महेन्द्रनगरमा आफ्नै क्रसरसमेत रहेका ठेकेदार तेजबहादुर चन्दले एसपीसहित प्रशासनसँग सेटिङ मिलाएको पाइएको थियो। तर जिल्लामा अहिले नयाँ एसपी चक्रराज जोशी आएका छन्। उनले क्रसर, उत्खनन लगायतका क्षेत्रमा निगरानी गर्नेसमेत बताएका छन्। यस्तै जिल्ला प्रशासन कार्यालयले पनि अनुगमनको तयारी गरेको बताइएको छ।
महाकालीको ठेक्कामा चन्दमात्र होइन, अरु पनि थुप्रै विवादित मान्छे छन्, जसमा अख्तियारको मुद्दा लागेर अहिले पनि झेलिरहेका दिवाकर भट्ट पनि साझेदार छन्। उनको पनि विगतको रोयल्टी ठेक्कामा भ्रष्टाचार गर्न भूमिका रहेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दा अझै किनारा लागिसकेको छैन।
उनीहरु मात्र होइन, विगतका दुई आर्थिक वर्षमा महाकाली नदी रोयल्टी संकलन कार्यमा अनियमितता भएको भन्दै पूर्वजनप्रतिनिधि (तत्कालीन जनप्रतिनिधि), कर्मचारी र कम्पनीका मान्छेहरु समेत अख्तियारको मुद्दा खेपिरहेका छन्।
अहिले पनि सो भ्रष्टाचारी ग्रुपकै मान्छेहरुसमेत सहभागी रहेको कम्पनीले ठेक्का पाएपछि अनियमितता र सेटिङको गन्ध देखिएको छ।
अहिलेको चालू आर्थिक वर्षमा दोधारा र भीमदत्त नगरपालिकाबीच रोयल्टी ५६ र ४६ प्रतिशत वितरण गर्ने सम्झौता भएपछि भीमदत्त नगरपालिकाले ठेक्का लगाएको हो।
सो ठेक्का टाइगर सगरमाथा जेभी काठमाडौंले भ्याटसहित ७ करोड ७७ लाखमा पाएको हो। टाइगर सगरमाथा जेभीले ठेक्का पाएर काम थालेको पहिलो दिनमै महाकालीमा विवादसमेत भएको थियो।
र यो पनि !
महाकालीमा सम्झौताविपरीत स्काभेटर चलाएर अन्धाधुन्ध उत्खनन [भिडियो]