डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकामा सुविधासम्पन्न पुस्तकालय बन्ने भएको छ। नगरपालिकाको त्रिवेणी बहुमुखी क्याम्पसमा सुविधासम्पन्न पुस्तकालय स्थापना हुने भएको हो।
परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीका अनुसार पुस्तकालय स्थापनाका लागि सुदूरपश्चिम विश्वविद्यालयसंग नगरपालिकाले सहकार्य गरेको छ।
`परशुराम नगरपालिकामा सुविधासम्पन्न पुस्तकालय बनाउने हाम्रो प्रतिबद्धता अनुरूप गरिएका विभिन्न प्रयासहरुले सार्थकता लिँदै गएका छन्,´ मेयर जोशीले भने, `यसै क्रममा परशुराम नगरपालिका र सुदुरपश्चिम विश्वविद्यालय बीचको सहकार्यमा त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडामा सुविधासम्पन्न पुस्तकालय बनाउनका लागि डीपीआर तयार भएको थियो।´
मेयर जोशीका अनुसार डीपीआर तयार भएर पुस्तकालय स्थापनाका लागि टेन्डरसमेत आह्वान गरिएको छ। विश्वविद्यालयले टेण्डर आह्वान गरेको हो। पुस्तकालय स्थापनाका लागि एक करोड ६० लाख बढीमा पुस्तकालय स्थापना गर्ने लागत इस्टिमेट बनाइएको छ।