धनगढी : लघुवित्तका ऋणीहरु संसद भवनभित्र प्रवेश गरेर नाराबाजीमा उत्रिएपछि सिंहदरबार, बालुवाटार र बानेश्वर क्षेत्रमा सुरक्षा निगरानी बढाईएको छ ।
निषेधित क्षेत्र घोषणा गरिएको सो क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।
बानेश्वर क्षेत्रमा आज ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर त्यहाँ हिंड्न रोक लगाइएको छ भने प्रहरीले चेकजाँच पनि बढाएको छ ।
हिजो आन्दोलनकारीको एक समूह संसद बैठक चलिरहेका बेला जबर्जस्ती संसद भवनभित्र छिरेको थियो । आज पनि आन्दोलनकारीहरु निषेधित क्षेत्रमा प्रवेश गर्नसक्ने भएकाले सम्भावित सुरक्षा चुनौतीलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा सो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको बताइएको छ ।
घटनाको छानबिनका लागि प्रहरीले उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति नै गठन गरिसकेको छ । त्यस्तै, हिजै साँझ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक राखिएको थियो ।
गृहमन्त्रीको निर्देशनबमोजिम आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले एकीकृत सुरक्षा योजना बनाई भिआइपी क्षेत्रमा गस्ती, प्रेटोलिङ, पिकेटिङ र चेकजाँच बढाई शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउने निर्णय गरेको हो । विभिन्न व्यक्ति र समूहबाट भैरहेका विरोधजन्य प्रदर्शन र सोसँग सम्बन्धित अन्य सुरक्षा चुनौती समेतलाई मध्यनजर गरी अतिविशिष्ट, विशिष्ट व्यक्ति, राजनीतिक दलका नेता, उच्च ओहोदाका कर्मचारीमाथि हातपात तथा आक्रमण हुनसक्ने अवस्थालाई ध्यान दिएर सो निर्णय गरेको बैठकको निर्णयमा उल्लेख छ ।
हिजो सुरक्षा घेरा तोडेर आन्दोलनकारीको समूह संसद भवनभित्र प्रवेश गरेको सम्बन्धमा बैठकले गम्भीर समीक्षा गर्दै कमजोरी सच्याउने निर्णयसमेत गरेको छ ।
निषेधित क्षेत्रका रुपमा रहेको बानेश्वरस्थित संसद भवनमा लघुवित्त पीडितका नाममा एक समूहले सुरक्षा घेरा तोडी भित्र प्रवेश गरि प्रदर्शन गरेको सन्दर्भमा भएको सुरक्षा कमजोरीका सम्बन्धमा गम्भीर समीक्षा गरियो’, बैठकको निर्णयमा भनिएको छ, ‘उक्त कमजोरीलाई मध्यनजर गरि सबै सुरक्षा निकायले आपसी समन्वयमा वस्तुगत सूचना संकलन गरी विद्यमान सुरक्षा चुनौती समेतका आधारमा स्थानीय प्रशासन ऐनको दफा ६ उपदफा (३क) बमोजिमको निषेध आदेश जारी भएको सबै स्थानमा भरपर्दो र त्रुटीरहीत सुरक्षा व्यवस्था मिलाउने ।’
काठमाडौँका सिडिओ जितेन्द्र बस्नेतको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी भुपेन्द्र बहादुर खत्री, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका सह-अनुसन्धान निरीक्षक विकास पाण्डे, सिंहदरबारस्थित नरसिंह दल गणका प्रमुख सेनानी प्रमोद कुमार शर्मा, सशस्त्र प्रहरीको २० नम्बर गण सिनामंगलका डिएसपी पूर्ण साउद, १८ नम्बर गण कीर्तिपुरका डिएसपी भानुभक्त लम्साल र काठमाडौँका सहायक सिडिओ हरिप्रसाद शर्मा सहभागी थिए ।