काठमाडौं: प्रहरी मुख्यालयले एक सब इन्सपेक्टर (सई) लाई दरबन्दी भएको ठाउँमा सरुवा भएर नगएपछि तह लगाउन सर्कुलर गर्न बाध्य भएको छ। आफूलाई पायक पर्ने ठाउँमा बसेर हेडक्वार्टरको आदेश लत्याएका सई गोपी कटवाल र उनीजस्तै अरुलाई पनि सरुवा भएको ठाउँमा जानलाई रमाना नबुझ्दा यस्तो भएको हो।
त्यसपछि प्रधान कार्यालयको प्रशासन शाखाले अस्ति सबै कार्यालयका नाममा सर्कुलर जारी गरेको छ।
नेपाल प्रहरीमार्फत् तलब,भत्ता र राशन वापतको रकम निकासा नहुने कार्यालयमा नगएका केही कर्मचारीलाई सरुवाको निम्ति बाध्य पार्न सर्कुलर गरिएको स्रोतले बताएको छ। मूलतः खोटाङमा कार्यरत सई गोपी कटवाल दरबन्दी तोकिएको काठमाडौंको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डेढ वर्षदेखि नगएको पाइएपछि सात दिनभित्र रमाना हुन आदेश दिइएको हो।
प्रहरी मुख्यालयले सर्कुलरमा अख्तियार, पर्यटक प्रहरी,सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलगायत विशेष प्रकृतिका कार्यालयमा सरुवा तथा बढुवा भई पदस्थापन भएका प्रहरी कर्मचारीहरु उक्त कार्यालयमा रुजु हाजिर भएपछि मात्र तलब, भत्ता र राशनवापतको रकम निकाशा हुने व्यवस्थाबारे जानकारी गराएको छ।