महेन्द्रनगर: कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको वडा नम्बर ११ मा बनाइएको आर्यघाट (मसानघाट) अलपत्र अवस्थामा छ। करिव ४ वर्ष अघिदेखि निर्माण थालेर बनाइएको आर्यघाट अहिलेसम्म पनि हस्तान्तरण नभएको र हाल अलपत्र बनेको हो।
सो वडाका वडाध्यक्ष प्रकाश थापाका अनुसार महाकाली किनारमा बनाइएको उक्त आर्यघाटको निर्माण पनि सम्पन्न भएको छैन। ठेकेदार र कम्पनीको लापरबाहीले गर्दा आर्यघाट अलपत्र परेको स्थानीयहरुको गुनासो छ।
यस्तै सो आर्यघाटको डीपीआर भएपछि पहिलो चरणमा ठेक्का भएकोमा देवीदत्त भट्टको शनिदेव कन्स्ट्रक्सनले ठेक्का पाएको थियो। ४ करोड बढीको बजेटमा निर्माणको काम थालिएकोमा पूर्ण हुन नसक्दा अलपत्र बनेको हो।
यस्तै अध्यक्ष थापाले दोस्रोपटक पनि काम गर्न बजेट अएको तर पुरानो डीपीआर नै हराएको भनेपछि बजेट फ्रिज गएको बताए। तत्कालीन समयमा वडा कार्यालय, समिति र उक्त कार्यक्रम कार्यान्वयन गर्ने सहरी विकास कार्यालयले नै डीपीआर हराएको थापाको आरोप छ।
उक्त अलपत्र आर्यघाटलाई भीमदत्त नगरपालिकाले पनि हस्तान्तरण नलिएको बताइन्छ। तर ठेकेदारले भुक्तानी भने लिएको बुझिएको छ।
यस्तै पहिलो चरणको ठेक्कामा गरिएको निर्माणमा अनियमितता समेत भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको जनाएको छ। अब नयाँ डीपीआर बनाएर सो अलपत्र आर्यघाट सुचारु गर्न पहल गर्ने वडाध्यक्ष थापाको भनाई छ।