धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा मातहतका ११६ वटा प्रहरी कार्यालयहरूमा क्यूआर कोडको व्यवस्था छ । आम नागरिकले गुनासो, पिरमर्का, उजुरी तथा सुझाव लगायतका प्रहरी सेवासँग सम्बन्धित विषयमा आफ्नो सूचना दिन सक्ने क्यूआर (क्विक रेस्पोन्स) कोडको व्यवस्थालाई नेपाल प्रहरीले विस्तार गर्दै लगेको छ ।
तथ्यांकअनुसार क्यूआर कोडको व्यवस्था सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा मातहतमा देखिन्छ । हालसम्म देशभरका १ सय ८९ प्रहरी कार्यालयहरूमा क्यूआर कोडको विस्तार भएको छ ।
तीमध्ये नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखामा १ वटा, काठमाडौं उपत्यका अन्तर्गत १२ वटा, कोशी प्रदेश अन्तर्गत २० वटा, मधेश प्रदेश अन्तर्गत १ वटा, बागमती प्रदेश अन्तर्गत ६ वटा, गण्डकी प्रदेश अन्तर्गत २ वटा, लुम्बिनी प्रदेश अन्तर्गत ४ वटा, कर्णाली प्रदेश अन्तर्गत १६ वटा क्यूआर कोडको व्यवस्था छ ।
उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा क्यूआर कोड ल्याइएको हो । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले गत असोज ६ मा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा क्यूआर कोडको प्रयोग सार्वजनिक गरेपछि यसको अन्य कार्यालयहरूमा समेत विस्तार हुँदै आएको छ ।
नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउँदै लैजाने नीति अनुरूप क्यूआर कोडको व्यवस्था गरिएको हो । यसलाई थप सशक्त, सेवामुखी र प्रभावकारी बनाउन परम्परागत रूपमा दिइने सेवालाई आम सेवाग्राहीहरूको सहजता र पहुँच कायम गराउन ध्यान दिनुपर्ने हुन्छ ।