धनगढी : सशस्त्र प्रहरी बल, नेपालमा रिक्त नायव महानिरीक्षक (डिआइजी)को एउटा पदमा बढुवा प्रक्रिया अघि बढेको छ । फागुन ३ गते बढुवा हुन चाहने सम्भावित उम्मदेवारहरुलाई फाराम भर्न औपचारिक सूचना प्रकाशित गरिएपछि उक्त प्रक्रियाले गति लिएको बताइन्छ ।
बढुवाको निम्ति चार जना वरिष्ठ उपरीक्षक (एसएसपी) सम्भावित उम्मेदवार देखिएका छन् । पहिलो नम्बरमा अघिल्ला वर्षहरुमा झैँ यसपटक पनि कृष्णराज पाठक नै छन् ।
त्यसपछि क्रमशः दिपक अधिकारी,मनिष थापा र कृष्ण ढकाल रहेको बुझिएको छ । नेपाल प्रहरीमा सई (प्राविधिक) छँदा सशस्त्रमा स्थानान्तरण भएका पाठकलाई यसअघिको बढुवामा छुटाइएको थियो । त्यतिबेला उनलाई पछाडि पारेर जुनियरहरु अगाडि गएका थिए । एक वर्षअघि ‘कार्यसम्पादन सन्तोषजनक नभएको’ जनाउँदै पछाडि धकेलिएका उनी यस पटक पनि बढुवाको सूचीमा छन् ।
त्यसपछि पनि उनको कार्यसम्पादन सन्तोषजनक नदेखिएको सशस्त्र मुख्यालय स्रोतले बतायो । बाँके, नौबस्तास्थित तालिम केन्द्रको प्रमुख छँदा पासआउट भएका सिपाहीहरुको बिदाई समारोहमा धेरै रकम उठाएको आरोपमा उनी कारबाहीमा परेका थिए । विभिन्न केन्द्रमा भएको भनिएको त्यस्तो अनियमितता छानबिन गर्न मुख्यालयले कमिटी नै खटाएको थियो ।
बढुवा समितिको सचिवालयका सदस्यसचिव एवम् अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमले फागुन ३ गते जारी गरेको सूचनामा सशस्त्र प्रहरी सेवा, साधारण समूह,साधारण उपसमूहमा रिक्त डिआइजी पदका लागि बढुवाका सम्भाव्य उम्मेदवारहरुसँग आवेदन मागिएको थियो ।
आफ्नो शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिसहित मूल्याङ्कन फाराम भरेर सात दिनभित्र सचिवालयमा पेश गर्न भनिएको म्याद गतसाता नै सकिएको छ ।