धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतविरुद्ध सर्वोच्चमा पुगेको छ। ४ वर्षअघि डोटीमा सामुदायिक वनको काठ तस्करीको मुद्दामा अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो।
अख्तियार स्रोतका अनुसार काठ तस्करी गर्दा तत्कालीन इलाका प्रहरी कार्यालय विपीनगर, डोटीका इन्सपेक्टर नृपबहादुर बोहरा र केदार सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष चक्रबहादुर साउद समातिएका थिए। त्यसपछि अख्तियारले छानबिन गरेकोमा विशेष अदालतले भने उनीहरूलाई सफाइ दिएको थियो।
सफाइ दिएपछि त्यसमा असन्तुष्टि जनाउँदै अख्तियार सर्वोच्चमा पुगेको हो।
विशेष अदालतको गत असार २० गतेको फैसलाले प्रतिवादीहरुलाई सफाई दिएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै अख्तियार सर्वोच्च पुगेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
उनका अनुसार, सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो।
रातको समयमा ट्याक्टरमा काठ लोड गरेको देखेपछि स्थानीयले इन्सपेक्टर बोहरा र अध्यक्ष साउदलाई काठसहित नियन्त्रणमा लिएका थिए।
त्यसपछि अख्तियारले २०७७ असार ७ गते उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। हाल ती इन्सपेक्टर काठमाडौंमा बस्छन् भने उनले जागिरबाट मुद्दा लागेसँगै राजीनामा दिएका थिए।