कैलाली– सत्तारुढ गठबन्धनका तर्फबाट धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका नृपबहादुर वडले यसपालीको चुनावमा कसैसँग पनि आफ्नो प्रतिस्पर्धा नहुने बताएका छन् ।
पत्रकारसंगको भेटघाटका क्रममा बोल्दै उनले यसपाली पनि आफ्नो जित सुनिश्चित भएको दाबी गरे । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस एक्लै लड्दा पनि प्रतिस्पर्धा थिएन स्वतन्त्रसँग प्रतिस्पर्धा हुने सम्भावना भएन,’ उनले भने, ‘दलीय व्यवस्थामा मानिसले निर्दलको विश्वास गर्दैनन् । त्यही भएर यसपाली पनि मेरो कोही प्रतिस्पर्धी छैनन्’
अघिल्लो चुनावमा एक्लै चुनाव लड्दा विजयी भएको भन्दै उनले यसपटक गठबन्धनका सामू कोही प्रतिस्पर्धी नभएको दाबी गरे । ‘चुनाव जित्नेमा कुनै समस्या छैन्,’ उनले भने, ‘पाँच दलीय गठबन्धनका अगाडि कसैको केही चल्दैन ।’ आफूले अगाडि बढाएका कतिपय योजनानहरु अपूर्ण भएकाले ती योजनाहरुलाई पूर्णता दिनका लागि पनि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
पाँच वर्षको कार्यकालमा तीन वर्ष कोरोना भाइरसका कारण काम गर्न नपाउँदा पनि धनगढी देशकै उत्कृष्ट स्थानीय तह भएको भन्दै उनले भने, ‘धनगढीले तीन वटा पुरस्कार त्यसै पाएको होइन । म र मेरो टीमले राम्रो काम गरेकै कारण पुरस्कार पाएको हो ।’ फेरि पनि चुनाव जितेर आएमा आफ्नो पहिलो काम धनगढीको ढल व्यवस्थापन हुने उनले बताए । ढल व्यवस्थापनका लागि एक अर्व ७२ करोड रुपैयाँको डिपीआर पनि तयार गरिसकेर भौतिक मन्त्रालयमा पेश भइसकेको उनको दाबी छ ।
साथै उनले गौरीफन्टा नाकाको स्तरोन्नति, धनगढी विमानस्थललाई व्यवस्थित गरेर प्रादेशीक एयरपोर्ट बनाउने र धनगढीलाई महानगरपालिका बनाउने अभियानमा बढी केन्द्रीत हुने बताए ।