महेन्द्रनगर : सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको झण्डै २ साता बित्दा पनि अझै कुनै प्रक्रिया अघि बढ्न सकेको छैन।
विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको ६ गते (आइतबार)बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयका उपकुलपतिका लागि जारी गरिएका दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै सूचना जारी गरेको थियो।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको कार्यकाल फागुन १८ गते सकिइसकेको छ। जोशीको कार्यकाल सकिएको अवस्थामा नियुक्ति प्रक्रिया नै रोकिएकाले भिसी पद रिक्त भएको हो।
त्यसो त नियुक्त गर्न अझै समय लाग्ने देखिएको छ। समितिले गत माघ २६ गते सार्वजनिक सूचना जारी गर्दै १० दिनको समय दिएर उपकुलपति नियुक्तिका लागि विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरमा दरखास्त आह्वान माग गरेको थियो तर समयसीमा नसकिँदै नियुक्ति प्रक्रिया स्थगित गरियो। सो समयमा सुदूरपश्चिम विश्वविद्यालयका लागि ९ जनाले आवेदन दिएका थिए।
स्रोतका अनुसार एक हप्तापछि पुनः उपकुलपतिका लागि आवेदन खुलाउने तयारी छ। समितिले मापदण्ड खुकुलो बनाउने तयारी र आवेदन माग्ने तयारी गरेको हो।
आवेदन माग भैरहेका बेला सुदूरपश्चिममा भिसी बन्न प्राध्यापकले दौडधुप तीव्र पारेका छन्। स्रोतका अनुसार पूर्व भिसी अम्मराज जोशी दोहोरिने मुडमा छन् भने हालका विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठक र अर्का प्राध्यापक एवं म्यानेजमेन्ट संकायका डीन पदमराज जोशी लगायतले राजनैतिक दबाब बढाउन दौडधुप गरिरहेका हुन्।
उनीहरुमध्ये अम्मराज नेपाली काँग्रेस, त्यसमाथि पनि सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा र अर्का नेता रमेश लेखक निकट मानिन्छन्। यस्तै पदमराज आफूलाई सबै दलतिर समानान्तर सम्बन्ध राख्नेमा पर्दछ्न्।
आर्थिक रुपले पनि सबल मानिने उनलाई शीर्ष नेताहरुको निकट मान्ने गरिन्छ। त्यस्तै यज्ञराज भने नेपाली काँग्रेसकै नेता तथा हालका परराष्ट्रमन्त्री एनपी साउदको निकटस्थ हुन्।
उनीहरु हाल काठमाडौं ओहोरदोहोर र नेताहरुसँगको भेटघाटमा व्यस्त रहेको स्रोतको दाबी छ।