धनगढी : बाजुराको बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट भएको घटनाले आज दिनभर सामाजिक सञ्जालमा चर्चा पायो । शुक्रबार कार्यालय समयमा पालिकाभित्रै भएको हात हालाहालको घटना शनिबार मात्रै बाहिर आएको थियो ।
कार्यालय समयमा सेवाग्राहीको काम गर्न छोडेर जगल्टा लुछाचुडीमा लागेकी दुई महिला कर्मचारीको घट्नाको वास्तविकता यस्तो छ ।
रन्जीता शाही र कविता सूर्यबंशी मेड्पा परियोजनामा कार्यरत कर्मचारी हुन । उनिहरु दुबैजना एउटै परियोजना र एउटै शाखामा कार्यरत कर्मचारी हुन्, भने रन्जीता परियोजना प्रमुख हुन ।
शुक्रबार कार्यसम्पादन मूल्याकन र दैनिक कार्ययोजना बारे छलफल भइरहँदा कस्ले के जिम्मा लिने र के बनाउने भन्ने विषयमा आपसमा कुरा नमिलेपछि विवाद बढेको थियो ।
विवादले पछि कार्यकक्षमा पहिला कविता सूर्यबंशीले जहिलेपनि हेपेर कुरा गर्ने भन्दै सुरुमा मुक्का प्रहार गरेकी थिइन् । पछि प्रतिवादमा रन्जीता शाहीले पनि प्रहार गरेको पाइएको छ ।
कुटाकुट पछि सूर्यबंशीलाई बढी चोट लागेको छ । दुबै जनाले एक आपसमा कुटाकुट गरेपनि रञ्जीताको प्रहारले सूर्यबंशीलाई बढी चोट लागेको बुझीएको छ । पछि नगरपालिका प्रमुख प्रशासीय अधिकृत बमबहादुर केसीले केही कर्मचारी र विवादमा संलग्न दुबै कर्मचारीलाई सँगै राखेर मिलाएका थिए ।
दुबै जनाले मिलेर काम गर्ने, एकले अर्कालाई सम्मान र सहयोग गर्ने सहमति पनि भएको थियो । सहमतिको बसाइ भइरहेकै बेला बीचमै एकाएक सूर्यबंशी ढलेपछि उपचारका लागि बाजुरा जिल्ला अस्पताल लगिएको थियो ।
कुटाकुट भएकै बेला केही कर्मचारीले विवाद समाधान तर्फ नलागि उल्टै भिडियो खिच्ने काम गरेको पाइएको छ । भिडियो सार्वजनिक भएपछि घटना सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । घटना भएको दिन नगर प्रमुख अमर खड्का र उपप्रमुख नन्दा कुमारी थापा जिल्ला बाहिर थिए । दुबै जनाले सामाजिक सञ्जालमा भिडियो आइसकेपछि मात्रै जानकारी पाएको बताएको छ ।
तर शुक्रबार राती नै केही व्यक्तिको उक्सावट र मिलोमतोमा सूर्यबंशीलाई उचालेको आरोप एक पक्षले लगाएका छन् । सहमति भएर अस्पतालमा उपचारका लागि सँगै गएको व्यक्तिलाई राती नै अर्को परिस्थिति बनाएको रञ्जीता शाहीले बताएकी छन् ।
आपसमा झगडा भएकै हो । सुरुमा मुक्का प्रहार गरेपछि मैले पनि प्रतिवाद गर्दा बढी चोट लागेको हुन सक्छ, तर उपचार गर्ने र मिलेर काम गर्ने हाकिमसाब सहीत कर्मचारीसँगको बसाइमा सहमति भइसकेको विषयलाई फरक ढंगले उठाएको र एकपक्षित दोषी बनाएको विषय स्वीकार्य नहुने शाहीको भनाई छ ।
कविता सूर्यबंशीले भने आफूमाथि एकोहोरो प्रहार गरेर घाइते बनाएको आरोप लगाएकी छन् । उपचार नै गर्नु पर्ने अवस्थासम्म पुर्याएको सूर्यबंशीको दाबी छ । उनले न्यायीक समितिमा पनि उजुरी दिएको तर सुनुवाई नभएको आरोप लगाएकी छन् ।