धनगढी : अछामको वैद्यनाथ धाममा आगलागी भएको विषयमा आयोजक समितिले मुख खोलेको छ।
हिजो (शनिबार) वैद्यनाथ धाममा जारी कोटीहोम महायज्ञको हवनकुण्डमा आगलागी भएको थियो।
जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकले कुण्डमा जलाइएको आगोको झिल्कोले सल्किएर कुण्डमा आगलागी भई जलेर खरानी भएको महेन्द्रनगरपोष्टलाई बताएका थिए। उनका अनुसार व्यवस्थापनमा कमजोरी भएका कारण आगलागी भएको थियो।
तर आयोजक समितिले भने कमजोरी स्वीकार्ने भन्दा स्वयं वैद्यनाथ बाबाले नै आगो लगाएकोजस्तो अभिव्यक्ति दिएका छन्। वैद्यनाथ कोटिहोम महायज्ञ, मुल आयोजक समितिका उपाध्यक्ष कुलबहादुर कुँवरले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले धाम र कोटिहोमको प्रचार नभएको अवस्थामा बाबा वैद्यनाथले नै आगोको झिल्को सल्काएर भाइरल बनाइदिने काम गरेको बताए।
यस्तै सो हवनकुण्डको पुनः निर्माण भैसकेको र क्षमा पुजा गरिने बताइएको छ। अछाममा फागुन १० गतेबाट सुरु भएको कोटीहोम महायज्ञ अहिले पनि जारी छ।
१ सय ४४ बर्षपछि सो कोटीहोम महायज्ञ लागेको हो। फागुन १० गतेदेखि सुरु भएको कोटीहोम फागुन २५ गतेसम्म संचालन हुने छ।
सो कोटीहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए। कोटीहोम फागुन २५ गतेसम्म संचालन हुने छ।