धनगढी: सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका सबै मन्त्री बर्खास्त गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारमा रहेका माओवादीका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको हो।
केन्द्रमा कांग्रेस-माओवादी र एकीकृत समाजवादीकाे गठबन्धन भंग भएर एमालेसहितकाे नयाँ गठबन्धन बनेपछि काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन्। शाहले उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, सामाजिक विकास मन्त्री झपट साउँद र राज्यमन्त्री गितादेवी माललाई आज (मंगलबार) बर्खास्त गरेका हुन्।
तर शाहले नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने कायम राखेका छन्।सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ।