धनगढी : सुदूरपश्चिम प्रदेशमा सामाजिक विकास मन्त्री झपट साउँदसहित माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरिएको छ ।
केन्द्रमा कांग्रेस माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन् ।
जादाजादै मन्त्री साउँद र उनको सचिवालयका कर्मचारीको सेवासुविधमा ३१ लाख बढि खर्च भएको पाइएको छ ।
गत ५ जेठमा सामाजिक विकास मन्त्रीमा नियुक्त भएका साउँदले ९ महिनाको अवधीमा ३१ लाख ४७ हजार रुपैयाँ खर्च गरेका छन् ।
यो उनी मात्र नभएर उनका निजी सचिवालयका कर्मचारी र सुरक्षाकर्मी समेतको खर्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी भुवन जोशीले उपलब्ध गराएको सूचनाअनुसार ९ महिनामा मन्त्री साउँद सरकारी खर्चमा ७ पटक काठमाडौँ घुमेका छन् । उनले काठमाडौँ आउजाउमा भने अन्य आन्तरिक मामिला मन्त्री शिवराज भट्ट बाहेकको तुलनामा भने कम खर्च गरेका छन् ।
हवाई टिकट र भ्रमण खर्च वापत ७ पटकमा एक लाख ६० हजार रुपैयाँ खर्च गरिएको मन्त्रालयले जनाएको छ । त्यो बाहेक प्रदेशका विभिन्न जिल्लामा भ्रमणमा जादाको समेत गर्दा उनले दुई लाख ७५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । मन्त्री भन्दा पनि उनको निजी सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीको हवाई टिकट र भ्रमण भत्तामा ६ लाख २६ हजार रुपैयाँ खर्च गरेका छन् ।
मन्त्रालयले उपलब्ध गराएको विवरणमा मन्त्री साउँद र उनको निजी सचिवालयका कर्मचारी तथा सुरक्षाकर्मीको पारिश्रमीक र अन्य सेवासुविधामा २२ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ । पारिश्रमीक तथा अन्य सेवासुविधा र भ्रमण खर्च समेत जोड्दा पदभार ग्रहण गरेको ९ महिनामा ३१ लाख बढिको खर्च भएको पाइएको हो ।