धनगढी : केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि सुदूरपश्चिममा काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका नेकपा माओवादीका मन्त्रीले क्वार्टर नछोडेको पाइएको छ।
हिजो (मंगलबार) मुख्यमन्त्री शाहले माओवादीका सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका थिए। उनीहरुलाई बर्खास्त गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ।
तर, हिजै बर्खास्तीमा परेका वनमन्त्री धामीले अहिलेसम्म पनि सरकारी क्वार्टर नछोडेको पाइएको छ। मन्त्री धामीले भोलिमात्रै मन्त्री निवास छोड्ने बताएका छन्।
उनले आफ्नो घरमा निर्माण कार्य चलिरहेको भन्दै निवास नछोडेका हुन्। धामीले आज बिहान पनि निवासको छतमै पत्रकार सम्मेलन पनि गरेका थिए। उता अर्का मन्त्री झपट साउदले भने निवास हिजै छोडेको महेन्द्रनगरपोष्टलाई बताएका छन्।