धनगढी : बझाङबाट निर्वाचित प्रतिनिधिसभा सासंद भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुने भएका छन् । तेस्रो पटक ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन सत्तारुढ गठबन्धन (पाँच दल)का तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता जोशी १२ बर्षपछि क्याबिनेटमा फर्किएका छन् ।
नेकपा एमालेका युवा नेता ऐन महरलाई पराजित गरेका जोशीले दोस्रो पटक सिंहदरबारको यात्रा तय गरेका हुन्। यसअघि जोशी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति थिए ।
जोशी एमालेमा साढे ४ दशक समय बिताएका र अहिले एकीकृत समाजबादी नेता हुन ।
छविसपाथिभेरा गाउँपालिकाका स्थायीबासी जोशी २०३६ सालमा नेपालगञ्जको शिक्षा क्याम्पसमा अनेरास्ववियूबाट राजनीति प्रारम्भ गरेका हुन् । तत्कालिन राजा महेन्द्रको शासनकालदेखि आजसम्म मुलुकमा भएका हरेक परिवर्तनका साक्षी बनेका जोशी परिवर्तनको आन्दोलनमा दर्जनौँ पटक गिरप्तारीमा परे ।
२०४६/४७ सालको आन्दोलनमा उनी विद्यार्थी संगठनबाट अग्रपंतिमा रहेर काम गरे । आन्दोलनकै बेलामा नेकपा मालेको जिल्ला सचिवको रुपमा काम गरेका जोशी २०४८ सालमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लडे । तर, झिनो मतले पराजित भए । २०५१ सालमा भएको मध्यावती निर्वाचनमा बझाङबाट प्रतिनिधिसभा निर्वाचनमा जित हात पारे । त्यो बेलामा ३ वर्ष जति सांसदको रूपमा काम गरे ।
२०६४ सालमा फेरि संविधानसभा सदस्यमा निर्वाचित भए । संविधानसभा सदस्यको मूख्य काम संविधान बनाउनु थियो । तर, २ वर्षमा संविधान नबनेपछि २ वर्ष बढाएर ४ वर्षको तोकियो । ०६८ वैशाख २१ गते मन्त्रिमण्डल पुर्नगठन हुँदा झलनाथ खनालको क्याबिनेटका वन तथा भू–संरक्षणमन्त्री जोशी थिए । उनको कार्यकाल ४ महिना मात्रै रह्यो ।