बाँके : जिल्ला प्रहरी कार्यालयबाट करिब डेढ किलोमिटर भित्र खेतमा एक्लो घर छ। यही घरमा बर्दियाको गेरुवा–५ का ४० वर्षीय सन्तोष कठरियासँगै उनकी श्रीमती, छोरा, सासुआमा र सालीसहित पाँचजनाको परिवार आश्रित छ।
सामान्य परिवारको यही घरमा बुधबार बेलुकी करिब ११ बजेतिर एक्कासी केही व्यक्तिहरु आएर ढोका ढकढक्याउन थाले। ढोका नखोलेपछि ती व्यक्तिहरुले ढोकामा लात्तीले हानेर चुकुल तोडे र घरभित्र पसे।
सन्तोषले प्रतिकार गर्न खोजेपछि उनको टाउकोमा घातक वस्तुले हानेर बेहोस बनाए। हात र खुट्टामा पनि हाने। सन्तोषकी सासु चुलियाका अनुसार करिब ६ जनाको समूहमा आएका ती व्यक्तिहरुसँग बन्दुकसमेत थियो। सन्तोषपछि ती डाँकाहरुले छोरामाथि हमला गर्न खोजे। छोरालाई बचाउने क्रममा सन्तोषकी श्रीमती सविताको टाउकोमा चोट लागेका छ।
त्यसपछि ती व्यक्तिहरुले दराज खोजेर भेटाएजतिको धनमाल लुटे, सविताको नाक र कानमा भएका गहना पनि लुटे, दुईवटा मोबाइल पनि लगेर त्यहाँबाट भागे।
डाँकाहरुको आक्रमणमा परेका सन्तोषलाई करिब एक घण्टामा प्रहरी आएर नेपालगन्ज मेडिकल कलेज पुर्याए पनि उनलाई बचाउन सकिएन। सविताको भेरी अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरी बताउँछ।
यसरी मध्यरातमा एकजनाको ज्यान जानेगरी भएको यस घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। लुटेराहरु भागेपछि प्रहरीलाई खबर गरेकोमा खेतमा एक्लो घर भएकोले प्रहरीलाई घर पत्ता लगाउनै समय लागेको चुलिया बताउँछिन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार केही व्यक्तिहरुलाई पक्राउ गरी सोधपुछ गर्ने काम भइरहेको छ। घटनाको कारण र संलग्नताबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको उनले बताए।
मृतककी भतिजी जमुना थारुले घटनामा संलग्नलाई चाडोभन्दा चाडो पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरिन्।
मृतक सन्तोषको घरबाट करिब तीनसय मिटर टाढा मात्रै अर्को घर छ। छिमेकीहरु घटना हुँदा आफूहरुले कुनै जानकारी नपाएको बताउँछन्। घटनापछि आफूहरुमा पनि त्रास छाएको उनीहरुले बताए।