काठमाण्डौ: युक्रेन युद्धमा रुसी सेनाको तर्फबाट भारतीयहरु पनि भिडिरहेको जनाइएको छ। दर्जनौं भारतीय रुसी सेनामा भर्ति भएको र यसबीच दुई जनाको मृत्यु भएको समाचार छ।
भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले यसबारे रुससँग कुरा भइरहेको र रुसी सेनामा भारतीयलाई भर्ना नगराउन आग्रह गरिएको जानकारी दिएका छन्। संघीय अनुसन्धान एजेन्सी र केन्द्रीय अनुसन्धान ब्यूरोले भारतबाट मानव तस्करी गरेर रुस पुर्याइएको र सेनामा भर्ना गराइएको तथ्य फेला पारेको विदेश मन्त्रालयले बताएको छ।
सञ्चार माध्यमहरुका अनुसार कम्तीमा तीन दर्जन भारतीय रुसी सेनामा भर्ना भएका छन्। उनीहरुलाई पहिले डेलिभरी ब्वाई र हेल्परको रुपमा लगिएको पाइएको छ। तर, सोही उद्देश्यमा मस्को पुगेका भारतीयहरुले रुस सरकारले आफूहरुलाई स्थायी बसोबासको ग्यारेन्टी गरेको बताएका छन्।
सिबिएसका अनुसार ३० वर्षे मोहम्मद आस्फान युद्धको अग्र मोर्चामा छँदा गत महिना मारिएका हुन्।
मस्कोस्थित भारतीय दूतावासले पनि मोहम्मदको निधनको पुष्टि गरेको छ। अधिकारीहरुले उनको शव भारत लैजाने तयारी भइरहेको बताएका छन्।
त्यस्तै २३ वर्षे अश्विनभाइ माङ्गुकिया पनि युक्रेन नजिकै डोनेस्कमा भएको हवाई आक्रमणमा मारिएका छन्। उनलाई सेक्युरिटी हेल्परको रुपमा त्यहाँ लगिएको परिवारका सदस्यहरुले बताएका छन्।