धनगढी : अछाममा आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। हिजो (शनिबार) मंगलसैन नगरपालिका वडा नम्बर १४ मा ३५ वर्षीय बाबुले १२ वर्षीया छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।
नाबालिका छोरी बलात्कारको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।
शनिबार साँझ ४ बजेतिर छोरीलाई बाबुले घरभित्रै मादक पदार्थ सेवन गरेर बलात्कार गरेको प्रहरीले जनाएको छ। घरमै रहेकी आमाले घटना थाहा पाएपछि प्रहरीले जानकारी पाएको थियो।
अहिले बाबुलाई नियन्त्रणमा लिइएको र म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाठकले जानकारी दिए।
बलात्कृतको स्वास्थ्य परीक्षण गरिएको र प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखिएको प्रहरीले बताएको छ।