धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) रबिन्द्र केसीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुगमन गरेका छन्। सोमबार स्थलगत अनुगमन गर्दै डीआइजी केसीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतका युनिटहरुलाई आवश्यक निर्देशन दिएका हुन्।
डीआइजी केसीले अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा कुनै किसिमको दबाव र प्रभावमा नपर्न र प्रविधीमुखी अनुसन्धानमा जोड दिन निर्देशन दिएको बताइएको छ। यस्तै उनले फैसला कार्यान्वयन र फरार अपराधी पक्राउ कार्यलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्।
यसका अलावा उनले सीमावर्ती अपराध र तस्करी नियन्त्रणमा शुन्य सहनशिलताको नीति अपनाई उपलब्धीमुलक ढंगले काम गर्न, गुण्डागर्दी, जुवातास लगायतका सामाजिक अपराध नियन्त्रणमा कानूनी निर्ममताका साथ प्रस्तुत हुन निर्देशन जारी गरेका छन्।
साथै उनले लागूऔषध नियन्त्रणलाई महाअभियानको रुपमा सञ्चालन गर्ने, प्रहरी आचरण बिपरितका कार्य नगर्ने, नेपाल प्रहरीको मिडिया नीति विपरित हुने गरि सामाजिक सञ्जाल प्रयोग नगर्ने, मानव अधिकार संरक्षण र नागरिकसंग सुमधुर एवं सम्मानजनक ब्यवहार गर्ने र हिरासतमा रहेका थुनुवा ओसार पसारमा भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन निर्देशन गरेको बुझिएको छ।
उनले गैरब्यवसायिक आर्थिक लाभको लागि कसैसंग साँठगाँठ र मिलोपतो नगर्ने, कुनै प्रहरी कर्मचारीहरुले गरेको पाईएमा कानूनी दायरामा ल्याउन साथैब्यक्तिगत समस्या र गुनासाहरु नेपाल प्रहरी संगठनले तोके बमोजिमको विधि र प्रक्रियाअनुरुप अघि बढाउन र जनमुखी प्रहरी सेवामा समर्पित रहि उच्च अनुशासनका साथ काम गर्नसमेत निर्देशन जारी गरे।
अनुगमनका क्रममा उनले कार्यालय भवन, शाखाहरु, ब्यारेक, मेस तथा हिरासत कक्षको समेत निरीक्षण गरेका थिए।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिलिप सिंह देउवा, ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्र राज जोशी लगायत जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अन्तरगतमा कार्यरत करिब ३ सय जना प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो।