धनगढी: अछामका सुरज कडायतले २६ फागुनमा आफ्नी श्रीमती डल्लीसँग अन्तिमपटक फोन सम्पर्क गरे। उनले त्यसबेला उनीसहित परिवारसँग कुरा गर्दै ‘स्वास्थ्य राम्रै छ। छोराछोरीको ख्याल गर्नू। बुवाले मेरो चिन्ता नगर्नू’ भनेका थिए।
तर उनले त्यस्तो भनेको एक महिना नबित्दै उनी उतै बिलाएका छन्।
डल्ली कडायत अस्ति बुधबार बिहान घाँस ल्याउन जङ्गलतिर गएकी थिइन्। सोही दिन उनको जीवनमा अप्रत्याशित घटना घट्यो। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ की डल्लीलाई बिहानै फोन आउँछ।
काठमाडौंबाट आएको उक्त फोनले उनलाइ एकाएक एकाएक छाँगाबाट खसेजस्तै बनायो। सो फोन मेनपावर कम्पनीको थियो र त्यो कलको सन्देश थियो, कुवेतमा २७ वर्षीय सुरज बहादुर कडायतको निधनको।
सुरज डल्लीका श्रीमान् हुन्। सुरजको कुवेतमा सडक दुर्घटनामा परेर निधन भएको हो। उनीसँगै नेपाली नागरिक सुजन कार्की र धिरज गुर्माछान मगरको पनि कारको ठक्करबाट निधन भएको छ।
२०७९ भदौ ३० गते सुरज कुवेत गएका थिए। उनी त्यहाँ पापाजोन नामको कम्पनीमा ‘वेटर’को काम गर्थे। विदेशबाट दिनहुँ परिवारसँग सम्पर्क गरिरहन्थे।
कुवेत जानुअघि सुरज भारतमा काम गर्थे। उनले ५/७ वर्ष भारतमा काम गरे। त्यहाँबाट फर्किएपछि तीन महिना लामो प्रक्रियापछि उनी कुवेत हानिए। झण्डै साढे ३ लाख ऋण काढेर सुरज विदेशिएका थिए।
सुरजको निधनले परिवारसँगै पूरै गाउँ शोकमा डुबेको छ। सुरजको निधनले परिवारले सहारा गुमाएको छ। स–साना छोराछोरी टुहुरा भए। उनका ९ र ७ वर्षीया दुई छोरी र ४ वर्षीय छोरा छन्।