मोरङ : त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश नेशनल टी–२० च्याम्पियनसिपको उपाधि हात पार्न सफल भएको छ। उपाधिसँगै आर्मीले नगद पाँच लाखसहित ट्रफी हात पारेको छ। उपविजेता कर्णाली प्रदेशले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ।
शनिबार भएको उपाधि भिडन्तमा आर्मी क्लबले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै ११० रन बनाएको थियो।
आक्रमक सुरूआत गरेको कर्णालीका लागि विपिन रावलले २७ र क्याप्टेन रविन्द्र शाहीले २१ रन बनाए। पहिलो विकेटमा कर्णालीले ३३ रनको साझेदारी गरेको थियो। त्यसैगरि, दिनेश अधिकारीले १२ रन बनाए। कर्णालीलाई धराशायी बनाउने क्रममा आर्मीका त्रितराज दास, वसिर अहमद, सहाव आलम र सुमित श्रेष्ठले समान २ विकेट लिए।
आर्मीले निर्धारित लक्ष्य १२ दशमलव २ ओभरमा १ विकेटको नोक्सानीमा पूरा गरेको थियो। लक्ष्य पछ्याउने क्रममा आर्मीको ओपनर सन्तोष कार्की र इमरान शेखले २५ रनको साझेदारी गरेका थिए। सन्तोष २१ रनमा क्याच भएपछि मैदानमा प्रवेश गरेका त्रितराज दासले आक्रमक शैलीमा जित सुनिश्चित गरे।
आर्मीको जितमा शेखले ३० बलमा अविजित ३८ रन र त्रितराजले ३३ बलमा ५० रन बनाए। च्याम्पियनसिपमा पहिलो अर्धशतक बनाएका दासले २ छक्का र ५ चौका प्रहार गरेका थिए। शेख र दासबीच ५४ बलमा ८७ रनको साझेदार गर्दै खेल आफ्नो पक्षमा पारे।
च्याम्पियनसिपमा प्लेयर अफ दि टुर्नामेन्ट र प्लेयर अफ द फाइनलको पुरस्कार आर्मीका दासले हासिल गरे। विजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार वितरण गरेका थिए। फागुन २२ गतेबाट शुरू भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशको सहभागिता रहेको आयोजक नेपाल क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिए।