वासिङ्टन : टिकटकले उसको चिनियाँ मूल कम्पनीसँग सम्बन्ध विच्छेद गर्ने वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ ।
भिडियो शेयरिङ गर्न मिल्ने र १७ करोड अमेरिकी प्रयोगकर्ताहरूले प्रयोग गर्दै आएको चिनियाँ एप टिकटकका लागि यो कानुनले ठूलो धक्का दिने विश्लेषकहरूले बताएका छन् ।
टिकटकले विश्वभर लोकप्रियतामा वृद्धि गरेको छ तर यसको चिनियाँ स्वामित्व र बेइजिङमा कम्युनिस्ट पार्टीको सम्भावित अधीनले विश्वसामु चिन्ता पैदा गरेको छ ।
टिकटकका विषयमा राजनीतिक रूपमा विभाजित वासिङ्टनमा एकताको दुर्लभ क्षण सिर्जना भएको छ । सांसदहरूले प्रस्तावित कानूनको पक्षमा ३५२ र विपक्षमा ६५ मत दिएका छन् ।
रिपब्लिकन र डेमोक्र्याट दुवैले चुनावी वर्षमा टिकटकका भावुक युवा प्रयोगकर्ताहरूको क्रोधको जोखिम उठाएपछि एप प्रयोगको विपक्षमा आएको चेतावनीले धेरैलाई आश्चर्यचकित पारेको छ । अमेरिकी निर्वाचनमा युवाहरूको भावना र भूमिकालाई महत्वपूर्ण मानिन्छ ।
अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोनसनले मतदानपछि भने, ‘आजको मतदानमा संसद्भित्रका दलहरूबीचको एकताले चीनले अमेरिकीहरूमाथि जासुसी गर्ने र छलछाम गर्ने प्रयासको विरोध गरेको देखाउँछ र हाम्रा शत्रुहरूलाई रोक्ने हाम्रो सङ्कल्पलाई सङ्केत गर्दछ ।’
उनले भने, ‘म सिनेटलाई पनि यो विधेयक पारित गर्न र राष्ट्रपतिलाई पठाउन आग्रह गर्दछु ताकि उहाँले यसलाई कानूनको रूपमा मान्यता दिन हस्ताक्षर गर्न सक्नुहुनेछ ।’
यो विधेयकको विषय सिनेटबाट अनुमोदन हुन अझै बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त विधेयक संसद्बाट पारित भएर आए त्यसमा हस्ताक्षर गर्ने बताएका ह्वाइट हाउसले जनाएको छ ।