कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटक आकर्षित गर्ने उद्देश्यले सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव हुने भएको छ।
भीमदत्त नगरपालिकाको आयोजनामा आगामी मङ्गलवारदेखि बिहीबारसम्म महोत्सव हुन लागेको हो। भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विश्वमै बाह्रसिङ्गाको सबैभन्दा ठूलो झुण्ड अवलोकन गर्न पाइने शुक्लाफाँटाको प्रचार गरी पर्यटक भित्र््याउने उद्देश्यले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको बताए।
महोत्सव अवधिमा निकुञ्जभित्रको रानी ताल सफाइदेखि गड्डाचौकी नाकाबाट नेपाल भित्रिने पर्यटकलाई स्वागत गरिने उपाध्यक्ष केसीले बताए। “गड्डाचौकी नाका, बसपार्क, बजार क्षेत्र र नगरपालिकाभित्र पर्यटकीय क्षेत्रको बोर्ड राख्ने तयारी छ”, उपाध्यक्ष केसीले भने, “महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।”