धनगढी: बैतडी घटनामा प्रहरीले अनुसन्धान थालेको छ। श्रीमतीको हत्या र कर्मचारीमाथि कुटपिटको घटनामा प्रहरीले अनुसन्धान थालेको हो।
आज (बिहीबार) बिहान जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर- ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले आफ्नै श्रीमतीको हत्या गरेका थिए।
यस्तै उनको कुटपिटबाट पालिकाका २ कर्मचारी घाइते भएका छन्। घाइते भएका उनीहरूलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई नेपालगन्ज पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका एसएसपी दिल्लीराज बिष्टले जानकारी दिए।
डिलासैनीका धामीले आफ्नै ५६ वर्षीया श्रीमती पार्वती धामीको कोदालो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। यस्तै उनले आफ्नो घरमा भाडामा बस्ने दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई पनि आक्रमण गरेका थिए।
आक्रमणबाट उनीहरू पनि घाइते भएका थिए। सिकिस्त रहेका उनको आजै हेलिकप्टरबाट थप उपचारका लागि पठाइएको हो।
घटना र विवादबारे थप विवरण भने खुलेको छैन। कुटपिट गर्ने र हत्या आरोपितलाई भने जिल्ला प्रहरी कार्यालय बैतडीले नियन्त्रणमा लिएको जनाएको छ।