डडेल्धुरा– डडेल्धुरामा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराको आयोजनामा नेपाली सेना रणबम गण, दह ब्यारेकले आइतबार जिल्ला सदरमुकाम बागबजारस्थित बस पार्कमा डेमो प्रदर्शन गरिएको हो ।
डडेल्धुरा सदरमुकाममा वर्षेनि आगलागीका घटना घट्ने गर्दछन् । डेमो रिहर्सलमा प्रारम्भिक उद्दार कसरी गर्ने ? घटनाको चारकिल्ला कसरी सुरक्षित राख्ने, विपद्का बेला स्थानीयसँग कसरी समन्वय गर्ने ? भन्ने कुराको डेमो गरिएको थियो ।
त्यसैगरी घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने ?, पीडितको पुर्नस्थापना कसरी गराउने ?, गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजाने ? लगायतका विषय डेमोमा प्रदर्शन गरिएको थियो ।
आगो नियन्त्रण सम्बन्धी डेमोमार्फत जनचेतनामुलक कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । यो समयमा घट्नसक्ने आगलागी जस्ता विपद्लाई सहजरुपमा अवतरण गर्न सकियोस् भन्ने उद्देश्यले डोमो प्रदर्शन गरिएको उनले बताए ।
यसैबीच, सिलिण्डरको रेगुलेटरमा आगो सल्केको अवस्थामा कसरी आगो नियन्त्रण गर्न सकिन्छ भनेर समेत डेमो प्रदर्शन गरिएको छ।