काठमाडौं : पूर्वमन्त्रीका छोरालाई चेकिङ (जाँच) गर्दा ९ प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। पूर्व बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीका छोरालाई चेकिङ गर्दा ९ प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको हो। सबैको जिम्मेवारी खोसेर अन्यत्र सरुवा गरिएको छ।
घटना भएको तीन महिना बितिसक्दा समेत प्रहरीमाथि छानबिन गर्दै कारबाही अझै रोकिएको छैन। घटना ६ पुसको हो। बिहानको करिब ११ बजेतिर प्रहरी प्रभाग इमाडोलले प्रहरी बिट भन्दा केही अगाडि चेकिङ राखेको थियो। त्यस क्रममा ग्वार्कोतर्फबाट बागमती प्रदेश–०२–०३९ प ८३८१ नम्बरको बुलेट मोटरसाइकलमा तीन युवा बिना हेल्मेट आएपछि प्रहरीको चेकिङमा परेका थिए।
घटना भएको दिन ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, तत्कालीन एसएसपी शिद्धिविक्रम शाह सहितको टोली अनुगमनका लागि ललितपुरको दक्षिण भेग गएको थियो।
प्रहरीका अनुसार ट्राफिक नियम उल्लघंन गर्दै मोटरसाइकल चलाउने व्यक्ति पूर्वमन्त्री तथा नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीका दुई छोरा (रविरन्जन र अभिरन्जन) सँगै अच्युत झा थिए।
तर, जसमा मोटरसाइकल चालकहरुमाथि धकेलाधकेल गरेको भन्दै प्रहरी हवल्दार रामचन्द्र पाठकलाई निलम्बन गर्न तथा बाँकी ८ जना प्रहरीलाई सचेत गराउने र नसियत दिन सिफारिस गरिएको छ।
यससँगै इमाडोलबाट ९ जनै प्रहरीको सरुवा गरिएको छ। उनीहरुमध्ये हवल्दार पाठक भने अहिलेसम्म पनि निलम्बनमा छन्। असई तेजबहादुर श्रेष्ठसहित ८ जनालाई नसियत र सचेत गराइएको छ।