काठमाडौं : युवा हिटर आदिल अन्सारी नेपाली क्रिकेट टोलीमा फर्किने बाटो खुलेको छ । गतवर्ष पुसमा नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेपछि उनी नेपाल र घरेलु क्रिकेट दुबैबाट बाहिर थिए ।
उक्त आरोपपछि पक्राउ परेका पूर्वक्रिकेटर महबुब आलम र अन्सारीलाई अदालतको आदेशमा ३ लाख धरौटी बुझाएर रिहा भएका थिए । उक्त मुद्धामा अन्तिम फैसला नहुँदा आदिलले घरेलु र अन्तर्राष्ट्रिय दुबै खेल खेल्न पाएका थिएनन् ।
सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरोपमा दाबी नपुग्ने भन्दै आदिल र महबुबसँगै स्पट फिक्सिङको आरोप लागेका पाँच जनालाई नै सफाइ दिएको छ ।
योसँगै नेपाली क्रिकेट टोलीमा फर्किएने बाटो खुलेको हो । आदिल नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा अलराउन्डर हुन् । उनले नेपालबाट ६ ओडीआई र ८ टी २० आई खेल खेलेका छन् ।
आदिलले २०२२ मा अमेरिकाविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । टी २० आईमा पपुवा न्युगिनीविरुद्ध त्यसै वर्ष त्रिवि क्रिकेट मैदानमा डेब्यू गरेका थिए । आदिल पछिल्लो समय भारतमा गएर घरेलु क्रिकेट खेल्ने गरेका थिए ।
सफाइ पाएपछि अन्सारीले आफूले नयाँ जन्म पाएको प्रतिक्रिया दिएका छन् ।