धनगढी : कैलाली र कञ्चनपुरमा झण्डै ४ लाखको अवैध सामान बरामद गरिएको छ ।
दुबै जिल्लाका विभिन्न स्थानमा अन्दाजी ३ लाख ८७ हजार ८४५ मूल्यको अवैध सामान फेला परेको हो ।
बुधवार कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिक र टीकापुर नगरपालिका-१ मेन्था चोकस्थित भित्रि सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६७ हजार २९५ मूल्य बराबरको अबैध सामान बरामद गरिएको छ ।
उक्त मूल्य बराबरको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, चक्लेट, धनियाँ, दाल, नमकिन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-५ वनगाउँ चोक, भीमदत्त-९ तिम्लाडी, भीमदत्त-१० विद्युत कार्यालय नजिक, भीमदत्त-११ चौकीसत्ता, बेलौरी नगरपालिका-१ फटैया, बेलौरी-२ टेडुवा, पुनर्वास नगरपालिका-४ ‘घ’ गाउँ र पुनर्वास-११ टाउके बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख २० हजार ५५० मूल्यका सामान बरामद गरिएको प्रहरीले बताएको छ ।
उक्त मूल्य बराबरको पेय पदार्थ, खाने तेल, बिडी, सुर्ती, काजु, बदाम, चक्लेट, नरिवल तेल, पानीपुरी, स्याम्पु, अचार, कपडा, झ्याल ढोकाको पर्दा, साईकलको ट्युव, साइकलको स्टेन्ड, हार्डवेयरका सामान, ब्रोइलर कुखुरा , माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।