धनगढी : सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त खुलेको छ ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गर्दै यसअघि स्थगित दुवै विश्वविद्यालयको दरखास्तसम्बन्धी प्रक्रिया पुनः शुरु गरेको हो ।
‘उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको मिति २०८०/११/०६ गतेको निर्णयानुसार दरखास्तसम्बन्धी प्रक्रिया स्थगन गरिएकोमा समितिको मिति २०८०/१२/१२ गतेको निर्णयबाट उपकुलपति छनोट प्रक्रियालाई निरन्तरता दिइएको सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुकलाई चैत १६ गतेभित्र कार्यालय समयभित्र दरखास्त दिन भनिएको छ । त्यस्तै, यसअघि गत माघ २५ गते प्रकाशित सूचनाको आधारमा समितिमा दर्ता भएका दरखास्तहरुलाई कार्यविधिबमोजिमको प्रक्रियामा समावेश गरिने समेत जनाइएको छ ।
दुवै विश्वविद्यालयमा रिक्त उपकुलपति पदमा नियुक्तिका लागि छनोट समितिले गत माघ २६ गते दरखास्त आह्वान गरेको थियो । तर, फागुन ६ गते एकाएक दरखास्त प्रक्रिया स्थगन गरिएको हो ।