धनगढी: पार्टी कार्यालयभित्रै कार्यकर्ताबीच कुटाकुट भएको घटना बाहिरिएपछि नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टीले आगामी शुक्रबार बिहान ११ बजे पार्टी कार्यालयमा बैठक राखिएको जानकारी दिएको छ।
यस्तै पार्टी कार्यालयको घटनाका सवालमा पार्टीका संरक्षक रेशमलाल चौधरीले स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै संरक्षक सबै कुरा झुठो भएको दाबी गरेका छन्। यस्तै उनले आफ्नी पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षले जसरी पनि आफूलाई फेरि जेल हाल्ने योजना बनाएको उल्लेख गरेका छन्।
चौधरीले लेखेका छन्, ‘पार्टीको बैठकमा कस्ले कसलाई हातपात गर्यो ? ज्यान मार्ने धम्की कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन्। जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरुको पछाडी हामी लाग्दैनौं। अनावश्यक हो (हल्लाको पछि नलागौँ।’
चौधरीले आगामी बैठकले गर्ने निर्णय नै अन्तिम हुने बताएका छन्। आज बिहान अनामनगरस्थित पार्टी कार्यालयमा संरक्षक रेशम चौधरीका कार्यकर्ताले अध्यक्ष रञ्जिता श्रेष्ठका कार्यकर्तामाथि कुटपिट गरेका थिए। कुटपिटमा रन्जिता पक्षका नेताहरु रमेश विक र रामलाल गौडेललाई सामान्य चोट लागेको बताइन्छ।
कुटपिटपछि रमेश विकले दिउँसो ३ बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेका छन्। उनले आफूलाई रेक्षम पक्षका कार्यकर्ताहरुले कार्यालयको ढोका थुनेर कुटेको बताए। अगाडि भनेका छन्, ‘मलाई पार्टी कार्यालयभित्रै आक्रमण गरे। मेरो छेउमा लालवीरजी र बलवीरजी बस्नुभएको थियो त्यसैले उहाँहरूले जोगाउनुभयो। बाहिर जान खोज्दा ढोकामा चुकुल लगाएका रहेछन्।’
आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेमा संरक्षक चौधरीले बालुवाटार बाहिरै कुट्ने धम्की दिएको पनि उनले बताए। ‘आज हामीले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट्ने कार्यक्रम थियो। बालुवाटार गएमा तिमीहरूलाई बालुवाटार बाहिरै पिट्छु भनेर धम्क्याएपछि हामीले विरोध गरेका थियौं,’ उनले भने।
यस्तै विकले रेशमले आफूसहितका ४ जनालाई सुदूरपश्चिमको सरकार ढले हत्या नै गर्ने धम्की दिएको दाबी गरेका छन्।
सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् र उनले नागरिक उन्मुक्ति पार्टीको समर्थन लिन ५ जनालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन्।
गत हप्ता कैलालीमा बसेको नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिम सरकारबाट बाहिरिने निर्णय गरेको थियो। पार्टी अध्यक्ष एवं रेशमपत्नी रञ्जिता श्रेष्ठ चौधरी सुदूरपश्चिम सरकारबाट बाहिरिने पक्षमा छिन् भने रेशम बाहिरिन नहुने पक्षका छन्।
नागरिक उन्मुक्तिमा केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताका विषयमा विवाद छ। यस्तै, निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षमा वैधानिकता नदिएपछि पार्टी नेताहरू विभाजित छन्।
सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति सहभागी छ। रन्जीता केन्द्रीय गठबन्धनको पक्षमा छिन्। रेशम प्रदेशमा कांग्रेससँगको सहकार्यका पक्षमा छन्।