काठ्माडौं : सरकारले साढे दुई दर्जन उपसचिवको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका ३० जना उपसचिवको पदस्थापन गरेको बताइएको छ ।
जसअनुसार उपसचिव नारायणप्रसाद भट्टराईलाई जिल्ला समन्वय समितिको कार्यालय, हेटौंडा पुर्याइएको छ । चन्द्रप्रसाद मिश्र, रघुवंश कँडेल, खेमनारायण पौडेल, जगदिश मिश्र र दिपेन्द्रकुमार खत्रीको भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ । अशोककुमार भट्टराई सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा हुँदा विष्णुप्रसाद पौडेल जिल्ला समन्वय अधिकारी भएर प्युठान पुगेका छन् ।
अर्जुनप्रसाद रिजाल, नारायणप्रसाद आचार्य, ध्रुवकुमार गौली, धनश्याम गौतम, डिलबहादुर कार्की, भोजबहादुर भण्डारी, बखतबहादुर खड्का, खगेन्द्रप्रसाद भट्ट, निलमकुमार न्यौपाने क्रमशः सर्लाहीको हरिपूर्वा, पर्वतको फलेबास, भोजपुरको षडानन्द, पर्वतको कुश्मा, सुर्खेतको पञ्चपुरी, प्युठानको स्वर्गद्वारी, सुर्खेतको लेकवेशी, कञ्चनपुरको कृष्णपुर र कैलालीको भजनी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका छन् ।
त्यस्तै, कृष्णाकुमारी गौलीलाई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको छ । देवर्षि सापकोटा, सावित्री श्रेष्ठ, अकबर प्रधान, अयोध्याप्रसाद भण्डारी, रामकुमार कार्की, नरेन्द्रबहादुर पाल र बुद्विबहादर खत्रीलाई क्रमशः जिल्ला समन्वय समितिको कार्यालय भोजपुर, सल्यान, झापा, रोल्पा, सिन्धुली, कञ्चनपुर र जाजरकोटमा पठाइएको छ ।
कृष्णप्रसाद गौतम, रमेशबहादुर बुढाथोकी र पुनाराम पौडेलको भने लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । यसैगरी, ऋषिराम सुवेदी गण्डकी प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । पदमलाल लामिछानेको कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।