महेन्द्रनगर: उत्तराखण्डको प्रसिद्ध नानकमत्ता गुरुद्वाराका प्रमुख बाबा तरसेम सिंहलाई मार्न सुटर उपलब्ध गराउने थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। उद्यमसिंह नगर प्रहरीले डेरा कार सेवाका प्रमुख जथेदार बाबा तरसेम सिंहको हत्याकाण्डमा संलग्न सुल्तान सिंहलाई हरियाणा र षड्यन्त्रकारी मध्येका सतनाम सिंहलाई पनि पक्राउ गरेको जनाएको छ।
यस अगाडि गोली हानी मार्ने एक सुटर अमरजीत सिंहको इन्कान्टर गरिएको थियो। उनका अर्का सहयोगी फरार छन्। अहिले एसटीएफ र प्रहरी उनको खोजीमा जुटेका छन्। हालै नानकमत्तामा तरसेम सिंहको मोटरसाइकलमा आएका दुई बन्दुकधारीले गोली हानी हत्या गरेका थिए।
यस्तै प्रहरीले सो घटनामा अन्य आधा दर्जन बढी योजनाकार र सहयोगीलाई पनि पक्राउ गरेको छ।
प्रहरीले अहिले शिविरको सम्पत्ति षड्यन्त्रमा संलग्न व्यक्तिविरुद्ध अनुसन्धानलाई तीव्रता दिएको छ। हिजो पक्राउ परेकामध्ये सतनामलाई भने नेपाल सीमातर्फ भागिरहेको अवस्थामा समातिएका हुन्। उनलाई गौरिफन्टा हुँदै धनगढीतर्फ जाने क्रममा समातेको प्रहरीले जनाएको छ। हिजै प्रहरीले दुवै अभियुक्तलाई सोधपुछ गरेपछि शनिबार अदालतमा पेश गरेपछि अदालतले दुवैलाई जेल चलान गरिएको छ। यस्तै फरार शूटर सरबजीत सिंहलाई पक्राउ गर्न प्रहरी टोलीले छापा मारिरहेको छ।
सो काण्डमा हालसम्म नौ जनालाई अभियुक्त पक्राउ गरी जेल चलान भइसकेका छन्। तराई क्षेत्रका सिख समुदायसँग सम्बन्धित गुरुद्वारा र धार्मिक स्थलहरूमा वर्चस्वका लागि चलिरहेको द्वन्द्वका कारण सुल्तानले प्रभावशाली व्यक्तिहरूसँग मिलेर बाबा तरसेमलाई बाटोबाट हटाउन जाल बिछ्याएका थिए।