धनगढी: भारतले डोटीमा क्याम्पस भवन बनाइदिने भएको छ। बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौंस्थित भारतीय राजदूतावासका सेकेन्ड सेक्रेटरी प्रशान्तकुमार सोनाले संयुक्त रुपमा केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस भवनको शिलान्यास गरेका छन्।
भवन भारत सरकारको दुई करोड ८९ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने बताइएको छ।
यसैबीच भारत सरकारले नेपालका विभिन्न जिल्लाका लागि ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त सवारी साधन हस्तान्तरण गरेको हो।
हस्तान्तरित १०१ सवारी साधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामै पुगेर प्रमुख जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरिसकेका छन्।
भातरले आफ्नो स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न जिल्लाका संघ संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ।
पछिल्लो तीन दशकमा भारत सरकारले आजको नेपालभर १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ। तीमध्ये सुदूरपश्चिम प्रदेशले ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस प्राप्त गरेको छ।