धनगढी: सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएपछि नागरिक उन्मुक्ति पार्टीका का पाँचजना सांसदहरूले समर्थन नरहेको भन्दै पत्र बुझाएका छन्। आज एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको भन्दै उनीहरूले पत्र बुझाएका हुन्।
उनीहरुले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा कैलाश चौधरी र टिका थापाले हस्ताक्षर गरेर समर्थन गरेको भन्ने कुरा गैरसंवैधानिक, गैरकानुनी र संसदीय मान्यता विपरीत भएको प्रस्ट पारेका छन्।
उनीहरुले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका हुन्। जसमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन्। उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम चौधरीनिकट हुन्। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले आफू दलको नेता रहेको दाबी गर्दै आएका छन्। उनीहरूले भने सोडारीलाई समर्थन गरेका छन्।
नाउपा अध्यक्ष श्रेष्ठले केही दिनअघि घनश्याम चौधरीलाई दलको नेताबाट हटाउँदै तीन महिनाका लागि पार्टीबाट समेत निलम्बन गरेकी थिइन्।
तर सो निर्णय कार्यान्वयन भएको छैन। यता, एमाले, माओवादीसहित नाउपाका केही माननीय र स्वतन्त्रसहितको समर्थनसहित दाबी गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका छन्। उनको आजै सपथ रहेको छ।