दार्चुला– दार्चुलामा यतिबेला चुनावी सरगर्मी बढ्दै गएको छ । जिल्लामा क्रियाशील प्रमुखदेखि सबैजसो पार्टीका उम्मेदवार आ–आफ्नो पक्षमा जनमत बटुल्न प्रतिबद्धतापत्रदेखि विगतमा गरेका कामको दस्तावेजसहित घरदैलो अभियानमा जुटेका छन् । उम्मेदवारसँगै केन्द्रीय नेतासमेत घरदैलो अभियानमा मत माग्दै हिँडेका छन् ।
निर्वाचनको लागि भन्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं दार्चुला इन्चार्ज गणेशसिह ठगुन्नाले घरदैलो अभियान चालेका छन् । प्रतिनिधिसभा सदस्य समेत रहनुभएका ठगुन्ना ९ वटै स्थानीय तहका मुख्यमुख्य वस्तीमा भेटघचाट तथा आमसभामा जुटेका छन् ।
जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीको गठबन्धन भएपछि सांसद ठगुन्ना एमालेलाई जिताउन आफै घरदैलो र भेटघाट अभियानमा लागेका हुन् । एमालेले प्रदेश कमिटी सदस्यहरुलाई स्थानीय तहको पालिका, जिल्ला कमिटीलाई वडा कमिटि र वडा कमिटीका सदस्यहरुलाई वस्तीसम्म परिचालन गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडालले जानकारी दिए ।
यसैबीच नौगाड गाउँपालिकामा काग्रेसका प्रभावशाली नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । गठबन्धनप्रति असन्तुष्टि जनाएर सामूहिक राजीनामा दिएका नेपाल प्रहरीका पूर्व डिएसपी तथा गाउँपालिका अध्यक्षका आंकाक्षी लालबहादुर धामीको नेतृत्वमा दर्जनौ कार्यकर्ता एमाले प्रवेश गरेका छन् । धामी नेतृत्वको टिमलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज गणेशसिह ठगुन्नाले पार्टीमा स्वागत गरे ।
धामी यो पटक गठबन्धनको विपक्षमा थिए । उनी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिका आंकाक्षी समेत थिए । नौगाड ४ का प्रभावशाली मानिएका धामीसँगै काग्रेसका क्षेत्रीय प्रतिनिधि हरमलसिह धामी, नौगाड गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष एवम् माओवादी केन्द्रका गाउँपालिका उपाध्यक्ष गारे धामी एमाले प्रवेश गरेका छन् । नौगाडमा एमालेका उम्मेदवार प्रेमसिंह धामी र उपाध्यक्ष गौरीदेवी ठगुन्नाको विरुद्धमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन बनाएका छन् ।
गठबन्धनको तर्फबाट माओवदीका दलजीतसिह धामी र उपाध्यक्षमा जगत ठगुन्नाले उम्मेदवार छन् । नौगाडमा गठबन्धनले महिला उपाध्यक्ष उम्मेदवार बनाएको छैन् । नौगाडको धुलीगडामा एमालेले विशाल जनसभा गर्दै कांग्रेस र माओवादी केन्द्रका प्रभावशाली नेता कार्यकर्ता एमालेमा प्रवेश गराएको नेकपा एमाले नौगाड गाउँ कमिटी अध्यक्ष जनकसिह ठगुन्नाले जानकारी दिए ।