काठमाडौं : भारतमा लोकसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान शुक्रवार बिहान सात बजेबाट सुरु भएको छ।
सात चरणमा हुने यो निर्वाचन अन्तर्गत पहिलो चरणमा १०२ सिटका लागि मतदान हुन लागेको हो। दशौँ लाख मानिसहरूले चुनावमा मत खसाल्ने ठानिएको छ।
जून १ तारिखसम्म चल्ने मतदानका लागि झन्डै १ अर्ब मानिसहरू भोट खसाल्न योग्य छन् र यो निर्वाचनलाई संसारकै हालसम्मको सबैभन्दा ठूलो चुनाव भनिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि चुनिने लक्ष्य राखेका छन्। मोदीलाई चुनौती दिन कैयौँ विपक्षी दलहरूले मिलेर गठबन्धन बनाएका छन्।
चुनावको परिणाम जून ४ मा घोषणा गरिनेछ। सोहीक्रममा आज उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले खटिमाको तराई क्षेत्रको मतदान केन्द्रमा आफ्नो परिवारसहित मतदान गरेका छन्। उनले विकसित भारतको बाटो खोलिएको र लोकतन्त्रको महान् पर्वमा सबैले सहयोग गर्नुपर्ने बताएका छन्।
मतदान गरेपछि मुख्यमन्त्री धामीले बलियो र आत्मनिर्भर भारत निर्माणमा आफ्नो जिम्मेवारी पूरा गर्दै ठूलो संख्यामा मतदान गर्न जनतालाई अपिल गरे। उनले विशेष गरी पहिलोपटक मतदान गर्न लागेका युवाहरुलाई अधिकतम संख्यामा मतदान गरी देशको उज्ज्वल भविष्य निर्माणमा योगदान दिन आग्रह गरे। उनले पहिले भोट, त्यसपछि रिफ्रेसमेन्टको सन्देश समेत दिएका थिए।
भारतको संसद् दुई सदनात्मक छ। तल्लो सदनलाई लोकसभा र माथिल्लो सदनलाई राज्यसभा भन्ने गरिएको छ।
शुक्रवार लोकसभाका सदस्यहरू चुन्नका लागि मतदान हुन लागेको हो। भारतमा बसोबास गरिरहेका १८ वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिहरू मत दिनका लागि योग्य छन्। चुनाव जित्नका लागि गठबन्धनलाई ५ सय ४३ सदस्य रहेको सदनमा २७२ सीट आवश्यक पर्छ।
अघिल्लो चुनावमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (बीजेपी) ले ३०३ सिट ल्याएको थियो। अहिले उसले लगातार तेस्रो कार्यकाल निर्वाचित हुने लक्ष्य लिएको छ।
कंग्रेससहित दूई दर्जनभन्दा बढी दल मिलेर इन्डिया गठबन्धन निर्माण गरेका छन् र उनीहरूले मोदीलाई चुनौती दिइरहेका छन्।
सन् २०१४ मा बीजेपीको उदय हुनुअघि ६० वर्षसम्म भारतको राजनीतिमा कंग्रेसको दबदबा थियो। पहिलो चरणको चुनाव अन्तर्गत २१ वटा राज्य र केन्द्र शासित प्रदेशका १०२ सीटमा मतदान हुन लागिरहेको छ। यो चरणमा मोदीको मन्त्रिमण्डलका ८ सदस्य, ३ पूर्व मुख्य मन्त्री र एक पूर्व राज्यपाल चुनावी मैदानमा छन्।
पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड , रास्थान, सिक्किम, तामिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखन्ड, पश्चिम बङ्गाल, अंडमान निकोबार, जम्मू र कश्मीर अनि लक्षद्वीप र पुद्दुचेरीमा मतदान भइरहेका छन्।
तामिलनाडुका सबै ३९ सीटमा मतदान भइरहेको छ। राजस्थानका १२, उत्तर प्रदेशका ८, महाराष्ट्रका ५ र बिहारका ४ सीटमा पहिलो चरणमा मतदान हुँदैछ।