कैलाली नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा धनगढीको मेयरका उम्मेदवार नृपबहादुर वडको प्रचार प्रसारका लागि धनगढी पुगेकी छन् । आइतबार धनगढी पुगेकी नेतृ देउवाले सोमबार पत्रकारसंग भेटघाट गर्दै धनगढीको मेयरमा नृप वडको विकल्प नभएको बताएकी छन् ।
धनगढीमा वड जस्तो अर्को लिडर नदेखिएको उनले बताइन् । धनगढीमा विकासका कामहरु पनि थुप्रै भएको भन्दै बरु तिनको प्रचार प्रसार हुन नसकेको बताइन् । विविध आयोजनालगायतका कारण बजार क्षेत्रमा विकासका गतिविधि गर्न नसकेको देखिएपनि धनगढीका ग्रामिण वडाहरुमा राम्रै विकासे कामहरु भएको नेतृ देउवाको भनाई छ ।
केन्द्रमा नेपाली कांग्रेसको सरकार नहँुदा पनि वडले धनगढीमा धेरै काम गर्न सकेको भन्दै नेतृ देउवाले भनिन्, ‘वडको लिडरसीप र उच्च व्यवस्थापन क्षमताले नै धनगढीमा काम गर्न सक्नु भएको हो । कोरोना कालमा पनि वडले १ लाख ७५ हजार मानिसलाई व्यवस्थापन गर्नु भएको छ ।’ उनले धनगढीमा अर्को मेयरको परिकल्पना पनि गर्न नसकिने बताइन् । कुनैपनि स्वतन्त्र व्यक्तिले स्थानीय तहमा मात्रै बलियो भएर काम गर्न नसक्ने उनको दाबी छ ।
उनले मेयर वडसहित वडामा भएका गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताइन् । मेयर भएर आएपछि काम गर्न सजिलो होस् भन्न सबै गठबन्धनका उम्मेदवार जित्न आवश्यक रहेको उनको भनाई छ ।