काठमाडौं : एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि जारी खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ।
ओमानको अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको हो।
दीपेन्द्रसिंहले अन्तिम ओभरमा २० रन प्रहार गरेसँगै नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो । नेपालका लागि फेरि एक पटक दीपेन्द्रसिंह ऐरीले मात्र २९ बलमा सर्वाधिक ४४ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए ।
नेपालले आजको खेलमा पनि खराब सुरुवात गरेको थियो । कुशल भुर्तेल फेरि एक पटक शून्य रनमा आउट भए । त्यसपछि तेस्रो ओभरमा सोमपाल कामी १६ रन बनाएर आउट भए । लगत्तै ५ रन बनाएर आशिफ शेख पनि पभेलियन फर्किए ।
त्यसपछि कप्तान रोहित पौडेल र सन्दीप जोराले नेपालको इनिङ्स सम्हालने प्रयास गरेका थिए । जोराले २३ बलमा २२ रन बनाए भने कप्तान पौडेलले १९ बलमा २१ रन बनाएर आउट भए ।
कुशल मल्ल १३ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङका आयुश शुक्लाले ३ तथा अतिक इक्बाल, यासिम मुर्तजा र इशान खानले १–१ विकेट लिए ।