धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे गठबन्धनमा कुनै समस्या नरहेको दाबी गरेका छन्। प्रेस सेन्टर कैलालीले धनगढी विमानस्थलमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले गठबन्धन पूरै अवधि चल्ने दाबी गरेका हुन्।
‘बाहिर विभिन्न खालका चर्चा परिचर्चा भइरहेका छन् तर त्यस्तो केही पनि छैन,’ दाहालले भने, ‘यो समीकरण पुरै अवधि जान्छ। प्रदेशमा सरकार बनाउने प्रकृया पनि करिबकरिब अन्तिम चरणमा छ।’
दाहालले अहिले वामपन्थीको मात्र भनेर सत्ता समीकरण नबनाइएको बताए। ‘अहिले हामी वामपन्थीको मात्र भनेर समीकरण गरेका होइनौँ। त्यसकारण अहिले वाम एकता भन्नु सही पनि छैन। किनभने गठबन्धनमा वाम–गैरवाम सबै छन्’ उनले भने, ‘यसलाई सत्ता समीकरणको रुपमा लिएका छौँ। राम्रो काम छलफल हुदै गए, समझदारी राम्रो हुँदै गए विचार मिल्ने एक ठाउँमा हुन पनि सक्छन्।’
प्रधानमन्त्रीले सरकारले गर्न लागेको लगानी सम्मेलनको तयारी लगभग पुरा भएको पनि बताए। उनले लगानी सम्मेलनमा करिब ४० देशको सहभागिता रहने बताए।
लगानी सम्मेलनलाई मध्यनजर गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि करिब एक दर्जन ऐन अध्यादेशबाट संशोधन गर्ने तयारी सरकारले गरेको पनि प्रधानमन्त्रीले जानकारी दिए। प्रधानमन्त्रीका अनुसार सोमबार बस्ने मन्त्रीपरिषद् बैठकले यससम्बन्धी निर्णय गर्नेछ।
‘लगानी सम्मेलनलाई लिएर सबैतिरबाट सकारात्मक र उत्साहवद्र्धक प्रतिक्रिया छन्। झण्डै ४० देशको सहभागिता हुने अहिलेसम्मको आँकलन छ’, उनले भने, ‘लगानी सम्मेलनको निम्ति लगानीमैत्री वातावरण तयार गर्न अध्यादेशमार्फत् केही ऐन संशोन गर्दैछौँ। एक दर्जन ऐन अध्यादेशमार्फत संशोधन गरेर लगानीमैत्री वातावरण बनाउँदैछौँ।’
प्रधानमन्त्रीले सरकारले यसपालि बजेट पनि परम्परागतभन्दा फरक तरिकाले ल्याउन लागेको बताए । बजेटको तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै उनले बजेटलाई वैज्ञानिक र बस्तुगत बनाइने दावी गरे। प्रधानमन्त्री दाहाल कञ्चनपुरमा सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन सुदूरपश्चिम आएका हुन्।