धनगढी : नेकपा एमालेका पूर्व उपाध्यक्षसमेत रहेका नेता भीमबहादुर रावललाई पार्टीका गतिविधिमा निषेध गरिएको पाइएको छ। पार्टीका अधिवेशनदेखि गोदावरीको सनराईज हलमा हालै थालिएको नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पनि उनलाई निषेध गरिएको हो।
स्रोतका अनुसार पार्टीको गत महाधिवेशनपछि जिम्मेवारीविहीन रहेका रावललाई बैठकको निम्तो पनि दिइएको छैन। बैठकमा जाने इच्छा हुँदाहुँदै पनि पार्टी कमिटीले उनलाई कुनै औपचारिक जानकारी नगराएको बुझिएको छ।
यतिसम्मकी नबोलाएपनि जाने योजना बनाएका रावलको बैठकका लागि परिचयपत्र नै बनाइएको छैन। बैठकमा प्रवेशका लागि परिचयपत्र नै नबनेको पाएपछि आफू नगएको रावलले बताएका छन्। परिचयपत्र नबनेपछि बैठकमा छिर्न खुसामत गर्नुपर्ने बाध्यता हुने भएकाले आफू नगएको उनले बताए।
पछिल्लो चितवन महाधिवेशनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएका उनलाई सोही कारण किनारामा पारिएको हो। त्यसपछि सहजीकरणका लागि अनेकन प्रयास गरिएपनी टुंगोमा पुग्न सकिएको छैन।
तत्कालीन समयमा ओलीले सोही ‘इगो’कै कारण गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा रावललाई अध्यक्ष ओलीले अछाममा चुनाव लड्न टिकट पनि दिएका थिएनन्।
ओलीबाहेक बैठकमा देशभरका नेकपा एमालेका महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरू, केन्द्रीय निकायमा मनोनयन गरेका परिषद् सदस्य तथा केन्द्रीय पदाधिकारी गरी २ हजार ५४५ जना सहभागी छन्।